हुसैनले ७ विकेट लिँदा गण्डकीको लज्जास्पद हार

यू-१९ पुरुष राष्ट्रिय प्रतियोगिता अन्तर्गत मुलपानीमा सम्पन्न पहिलो खेलमा लुम्बिनीले गण्डकीलाई हराउँदै विजयी सुरुवात गरेको छ । तीव्र गतिका बलर मोहम्मद हुसैन चम्किदा लुम्बिनीले गण्डकीलाई ९ विकेटले पराजित गरेको हो ।

माथिल्लो मुलपानी मैदानमा टस जितेर ब्याटिंग गर्न उत्रेको गण्डकीले १४.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर मात्र २३ रन बनाउँन सक्यो । गण्डकीलाई लज्जास्पद योगफलमा अल आउट पार्न हुसैनले ७ विकेट लिए । गण्डकीको ब्याटिंगमा युवा ओपनर अर्जुन कुमालले ६, विष्णु पाण्डेले ५, सचिनराज अधिकारीले २ तथा दिपक डुम्रेले १ रन बनाउँदा अन्य ७ खेलाडी भने खाता नखोल्दै आउट भएका थिए ।

लुम्बिनीको बलिंगमा हुसैनले ७ ओभरमा १ मेडन राख्दै १४ रन खर्चेर ७ विकेट लिए । यस्तै, दुर्गेश गुप्ता र वासिर अहमदले समान १-१ विकेट लिए ।

२४ रनको सामन्य लक्ष्य पछ्याएको लुम्बिनीले ५.५ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । लुम्बिनीको ब्याटिंगमा कप्तान देव खनालले २० बलमा ४ चौकाको मद्धतमा सर्वाधिक १८ तथा विराट भण्डारीले ८ रन बनाए । लुम्बिनीले ओपनर आकाश त्रिपाठीलाई खाता नखोल्दै गुमाएको थियो ।

गण्डकीलाई एकमात्र सफलता कप्तान सुवास भण्डारीले दिलाएका थिए ।

प्रतियोगिता अन्तर्गत टियु मैदानमा जारि अर्को खेलमा प्रदेश १ र बागमती प्रदेश प्रतिस्पर्धा गरिरहेका छन् । उक्त खेलमा टस जितेर ब्याटिंग गरेको प्रदेश १ ले ४५.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १७५ रन बनाउँदै बागमतीलाई १७६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

२०७८ मंसिर ७, मंगलवार मा प्रकाशित