विश्वकप छनोट एसिया : नेपालको पहिलो जितमा सिताको अलराउण्ड प्रदर्शन

भुटानलाई सहजै ८ विकेटले पराजित गर्दै नेपालले युएईमा जारि आईसीसी महिला टि-ट्वान्टी विश्वकप एसिया छनोटमा पहिलो जित दर्ता गरेको छ। पहिलो खेलमा नेपाल हंगकंगसंग ६ विकेटले पराजित भएको थियो।

आईसीसी एकेडेमी २ मैदानमा सम्पन्न खेलमा भुटानले दिएको ६२ रनको लक्ष्य नेपालले ८.३ ओभरमा २ विकेट मात्र गुमाएर भेटायो। लक्ष्य पछ्याउने क्रममा सिता राना मगर र इन्दु बर्माले ३७ रनको ओपनिंग साझेदारी गरे। पाँचौ ओभरमा सिता १७ रन बनाएर आउट भएपछि इन्दु र रुबिना क्षेत्रीले १९ रन जोडे। नवौं ओभरमा रुबिना १० रन बनाएर आउट भईन्। त्यसपछि इन्दुले अविजित १८ तथा कविता जोशीले अविजित ८ रन बनाउदै नेपाललाई जितसम्म पुर्याए।

यस अघि टस जितेर ब्याटिंग गरेको भुटानले २० ओभरमा ६ विकेट क्षेतीमा ६१ रन बनाएको थियो। भुटानको लागि ओपनर नगावांग छोडेनले १३ तथा सोनाम पाल्डोनले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

पहिलो विकेटको लागि छोडेन र पाल्डोनले ३० रनको साझेदारी गरेका थिए। सातौँ ओभरमा पाल्डोनलाई सिता राना मगरले पेभेलियन फर्काएपछि भुटानले लगातार विकेट गुमाउन पुग्यो। फलस्वरुप ३०/० को अवास्थबाट भुटानले थप ३१ रन जोड्दा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

नेपालको बलिंगमा देब्रे हाते स्पिनर सिता राना मगरले ३ विकेट ( ४-०-१०-३ ) तथा करुना भण्डारीले १ विकेट ( ४-१-६-१ ) हात पारिन्। २ भुटानी ब्याटर रन आउट भए। नेपालले अतिरिक्तको रुपमा ११ रन खर्चियो।

नेपालले प्रतियोगिताको तेश्रो खेल कुवेतसंग नोभेम्बर २५ तारिखमा खेल्ने तालिका छ। खेल ११:१५ बजे बिहान सुरु हुनेछ।

सन् २०२३ को फेब्रुअरीमा दक्षिण अफ्रीकामा आयोजना हुने महिला विश्वकप टि-ट्वान्टी विश्वकपको छनोट अन्तर्गत नेपालले पहिलो खुड्किलोको रुपमा एसिया छनोट खेलीरहेको हो। प्रतियोगितामा नेपाल सहित आयोजक युएई, भुटान, हंगकंग, मलेसिया र कुवेत गरि ६ टोलि सहभागी छन्। सहभागी ६ टिमले एकअर्का संग एक/एक खेलमा प्रतिस्पर्धा गरेपछि उत्कृस्ट हुने एउटा टिम आगामी वर्ष आयोजना हुने ग्लोबल छनोट प्रतियोगितामा छनोट हुनेछ।

२०७८ मंसिर ७, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment