यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको दोस्रो दिनको खेलमा हाल कर्णाली र लुम्बिनी प्रतिस्पर्धा गरिरहेका छन् ।
खेलमा टस जितेर पहिले ब्याटिंग रोजेको कर्णालीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनाएको छ। कर्णालीको ब्याटिंगतर्फ सुवास ऐरले ९० बलमा ९ चौका र ३ छक्काको मद्धतमा सर्वाधिक ७६ रन बनाए । यस्तै, कप्तान निश्चल रावलले ४४ (९९) तथा ओपनर बिपिन रावलले ३२ (२६) रनको योगदान दिए ।
पहिलो ओभरमै कर्णालीका ओपनर मनिष थापा खाता नखोल्दै आउट भएता पनि अर्का ओपनर बिपिन रावलले आक्रामक ब्याटिंग गर्दै कर्णालीको इनिंग्स सम्हाले । राम्रो लयमा देखिएका उनलाई दुर्गेश गुप्ताले विकेटकिपर प्रज्ज्वल थापाबाट क्याच आउट गराए । त्यसपछि सुवास ऐर र निश्चल रावलले तेस्रो विकेटका लागि १२२ रनको शतकीय साझेदारी गर्दै कर्णालीको इनिंग्स उकासे ।
३६ औं ओभरमा वासिम अहमदले ऐरलाई बोल्ड आउट गर्दै साझेदारी तोडे । लगत्तै ३९ औं ओभरमा रावल पनि बिशाल बिक्रम केशीको बलिंगमा क्याच आउट भए । त्यसपछि लुम्बिनी खेलमा हावी बन्यो । अन्तिममा प्रकास जैशीले २५ रन बनाउँदै कर्णालीको योगफल २०० पार गराए । १६१ रनमा ३ विकेट गुमाएको कर्णालीले २०९ रनमा ७ विकेट गुमाउँन पुगेको थियो ।
लुम्बिनीको बलिंगतर्फ बायाँ हाते तीव्र गतिका बलर दुर्गेश गुप्ताले ९ ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए । यस्तै, किफायती बलिंग गरेका बिशाल बिक्रम केशीले २ तथा वासिर अहमद र मोहम्मद हुसैनले समान १ विकेट हात पारे ।