मुलपानीमा सम्पन्न तेस्रो दिनको खेलमा कर्णाली प्रदेशलाई ७६ रनले हराउँदै एकदिवसीय यू-१९ राष्ट्रिय प्रतियोगिता अन्तर्गत प्रदेश-१ ले लगातार दोस्रो जित दर्ता गरेको छ । यसअघि प्रदेश-१ ले बागमती प्रदेशलाई २६ रनले पराजित गरेको थियो । यस्तै, पहिलो खेलमा लुम्बिनीमाथि १४० रनको विशाल जित निकालेको कर्णालीले भने प्रतियोगितामा पहिलो हार बेहोर्यो ।
मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा २४० रनको लक्ष्य पछ्याएको कर्णाली ३८ ओभरमा १६३ रनमा अल आउट भयो । कर्णालीको ब्याटिंगतर्फ १० औं नम्बरमा ब्याटिंग गर्न आएका रुपक दाहालले सर्वाधिक ४० तथा ओपनर मनिष थापाले ३९ रन बनाउँनु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन् ।
प्रदेश-१ को बलिंगतर्फ शरवन किस्कुले १० ओभरमा २ मेडन राख्दै ३४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै, लव कामतले ३, गौरव कटुवालले २ तथा दिपेश कँडेलले १ विकेट हात पारे ।
यसअघि टस जितेर ब्याटिंग गर्न उत्रेको प्रदेश-१ ले निर्धारित ५० ओभरमा २३९ रन बनाउँदै कर्णालीलाई २४० रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । प्रदेश-१ को ब्याटिंगतर्फ बिबेक आनन्द मेहेताले ८२ बलमा ५ चौका र २ छक्काको मद्धतमा सर्वाधिक ५९ रन बनाए । यस्तै, कप्तान अंकित सुवेदीले ३७, सोनु मण्डलले २५, ओपनर सोनु अन्सारीले २४ तथा दिपक जोशीले अविजित २३ रनको योगदान दिए ।
कर्णालीको बलिंगतर्फ अनुज चनरा, रुपक दाहाल र सन्दिप शाहीले समान २ विकेट लिए । यस्तै, प्रकाश जैशी र सुवास ऐरको नाममा समान १ विकेट रह्यो ।