दबाबमा बसन्त र नारायणको अर्धशतक, लुम्बिनी प्रदेशलाई चुनौतिपूर्ण लक्ष्य

दबाबमा बसन्त कार्की र नारायन जोशीले अर्धशतक बनाउँदा एकदिवसीय अन्डर-१९ राष्ट्रिय प्रतियोगिता अन्तर्गत मुलपानीमा भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिंग रोजेको सुदूरपश्चिमले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४० रन बनाउँदै लुम्बिनीलाई जितका लागि २४१ रनको लक्ष्य प्रस्तुत गरेको छ । सुदूरपश्चिमको ब्याटिंगमा नारायन जोशीले ७४ बलमा ४ चौका र ३ छक्काको मद्धतमा सर्वाधिक ६५ रन बनाए । यस्तै, बसन्त कार्कीले ५७, राहुल भण्डारीले ३७ तथा शेर मल्लले अन्तिममा अविजित २४ रनको योगदान दिए ।

सुदूरपश्चिमको सुरुवात अत्यन्तै खराब रह्यो जुन क्रममा १० रनको योगफलमै ५ विकेट गुमाएको थियो । त्यसपछि बसन्त कार्कीले अर्जुन साउदसँग छैटौं विकेटका लागि ६६ तथा राहुल भण्डारीसँग सातौँ विकेटका लागि ३३ रनको साझेदारी गर्दै सुदूरपश्चिमको इनिंग्स सम्हाले । बसन्त कार्की आउट भएपछि भण्डारी र नारायन जोशीले आठौँ विकेटका लागि ८२ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई सम्मानजनक योगफलतर्फ डोर्याएका थिए ।

लुम्बिनीको बलिंगतर्फ मोहम्मद हुसैनले १० ओभरमा ५२ रन खर्चेर ४ विकेट लिए । यस्तै, दुर्गेश गुप्ताले २, राहुल चौधरी वासिर अहमद र बिशाल बिक्रम केशीले समान १ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम पहिलो खेलमा प्रदेश-२ संग पराजित भएको थियो। लुम्बिनीले पहिलो खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दा दोश्रो खेलमा प्रदेश-१ संग पराजित भएको थियो।

२०७८ मंसिर १०, शुक्रबार मा प्रकाशित