अन्डर-१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत हाल कर्णाली प्रदेश र गण्डकी प्रदेश कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् ।
खेलमा टस हारेर ब्याटिंगको निम्तो पाएको कर्णालीले २८ ओभरमा सम्पूर्ण विकेट गुमाएर ११३ रन बनाउँदै गण्डकीलाई जितका लागि ११४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । कर्णालीको ब्याटिंगमा प्रकाश जैशीले सर्वाधिक २६, रुपक दाहालले २० तथा अनुज चनाराले २२ रन बनाए ।
अत्यन्तै खराब सुरुवात गरेको कर्णालीले ३५ रनको योगफलमै ५ विकेट गुमाएको थियो । त्यसपछि राज शाह र प्रकाश जैशीले छैटौं विकेटको लागि २७ रनको साझेदारी गर्दै कर्णालीको इनिंग्स सम्हाले । कमल परियारले जैशीलाई आउट गर्दै साझेदारी तोडे । अन्तिममा रुपक दाहालले २० तथा अनुज चनाराले २२ रन बनाउँदै कर्णालीको योगफल १०० पार गराए ।
गण्डकीको बलिंगतर्फ कमल परियारले ६ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए । यस्तै किरण पौडेलले ३ तथा सुदिप अर्याल र सुबास भण्डारीले समान १ विकेट लिए ।
यसअघि कर्णालीले २ खेलमा समान १ जित र १ हार बेहोरेको छ । कर्णाली पहिलो खेलमा लुम्बिनीमाथि १४० रनले विजयी भएको थियो भने दोस्रो खेलमा प्रदेश-१ सँग ७६ रनले स्तब्द बनेको थियो । यस्तै, गण्डकीले भने सुरुवाती दुवै खेलमा हार बेहोरेको छ । उसले पहिलो खेलमा लुम्बिनीसँग ९ विकेटको तथा दोस्रो खेलमा बागमतीसँग ७५ रनको हार बेहोरेको थियो ।