अक्षरको घातक बलिंग, भारतलाई महत्वपूर्ण अग्रता

देब्रे हाते स्पिनर अक्षर पटेलले घातक बलिंग गर्दा पहिलो इनिंग्समा न्युजिल्यान्डलाई २९६ रनमा सिमित पार्दै भारतले पहिलो इनिंग्समा महत्वपूर्ण अग्रता हाँसिल गरेको छ।

टेस्टको पहिलो इनिंग्समा भारतले ३४५ रन बनाएको थियो। दोश्रो दिनको समाप्तिमा विकेट नगुमाई १२९ रन बनाएको न्युजिल्यान्डले तेश्रो दिन थप १६७ रन बनाउदा सम्पूर्ण विकेट गुमाउन पुग्यो। तेश्रो दिन ब्याटिंग सुरु गरेको भारतले दिनको समाप्तिमा १ विकेट गुमाएर १४ रन बनाएको छ र ६३ रनको अग्रता हाँसिल गरेको छ। शुबमन गिल १ रन बनाएर कायल जेमिसनबाट बोल्ड भएपछि मायाँक अग्रवाल ४ तथा चेतेश्वर पुजारा ९ रन बनाएर अविजित छन्।

दिनको सुरुवातमा ७५ रनमा अविजित रहेका विल योंगलाई ८९ रन ( २१४ बलमा १५ चौका ) बनाउदा रभीचन्द्रन आश्विनले क्याच आउट पारे। दिनको सुरुवातमा ५० रनमा अविजित रहेका लाथमले त्यसपछि एक किनार सम्हालेता पनि अर्को किनारमा विकेट जाने क्रम जारि रह्यो। कप्तान विलियमसनलाई १८ रनको स्कोरमा उमेश यादवले एलबिडब्लु पारे। ११ रन बनाएका रोस टेलर र २ रन बनाएका हेनरी निकोलसलाई अक्षर पटेलले पेभेलियन फर्काए। शतक बनाउन ५ रनले चुक्दै लाथम अक्षरबाट क्याच आउट भए जस अघि उनले २८२ बलमा १० चौका मद्दतले ९५ रन बनाए। लाथमको विकेट पछि तल्लो क्रममा कायल जेमिसंनले २३, रचिन रभीन्द्र र टम ब्लन्डेलले समान १३ रन योगदान दिए।

भारतको बलिंगमा अक्षर पटेलले सर्वाधिक ५ विकेट लिए जुन क्रममा ३४ ओभरमा ६ मेडन ओभर गर्दै ६२ रन खर्चिए। रभीचन्द्रन आश्विनले ३ विकेट ( ४२.३-१०-८२-३ ) लिए। उमेश यादव ( १८-३-५०-१ ) र रभिन्द्र जडेजाले ( ३३-१०-५७-१ ) समान एक विकेट लिए। चौंथो टेस्ट खेल्ने क्रममा अक्षरले पाँचौ पटक ५ विकेट लिएका हुन्।

यस अघि टस जिएर ब्याटिंग गरेको भारतले पहिलो इनिंग्समा डेब्यु गरिरहेका श्रेयस ऐयरको शतक ( १०५ रन ) तथा शुबमन गिल ( ५२ ) र रभीन्द्र जडेजाको ( ५० ) अर्धशतक मद्दतले ३४५ रन बनाएको थियो। न्युजिल्यान्ड बलर टिम साउदीले ५ विकेट तथा कायल जेमिसनले ३ विकेट लिएका थिए।

२०७८ मंसिर ११, शनिबार मा प्रकाशित