कर्णाली प्रदेशलाई सहजै १० विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेशले अन्डर-१९ राष्ट्रिय प्रतियोगितामा तेश्रो खेल खेल्दा पहिलो जित दर्ता गरेको छ।
मुलपानी मैदानमा सम्पन्न खेलमा कर्णालीले दिएको ६७ रनको लक्ष्य सुदूरपश्चिमले विकेट नगुमाई १२.१ ओभरमै भेटायो। सुदूरपश्चिमका ओपनर खडक बोहराले अविजित ४१ तथा नरेश भट्टले अविजित १६ रन बनाए। बोहराले ४२ बलमा ५ चौका र २ छक्का तथा भट्टले ३१ बलमा ३ चौका प्रहार गरे।
यस अघि टस हारेर ब्याटिंग गरेको कर्णालीले १६.५ ओभरमा ६६ रनमा सम्पूर्ण विकेट गुमाएको थियो। कर्णालीको लागि प्रकाश जैसीले सर्वाधिक १५ रन, रमेश बुढाले १२ तथा रुपक दाहालले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। ४ कर्णाली ब्याट्सम्यान खाता नखोली विकेट गुमाए। कर्णालीले पहिलो ६ विकेट ३१ रनमै गुमाएको थियो। सातौँ विकेटको लागि रुपक र रमेशले २८ रनको साझेदारी गरेका थिए जुन इनिंग्सको सर्वाधिक साझेदारी रह्यो।
सुदूरपश्चिमको बलिंगमा आकाश चन्द ( ६-०-२८-३ ) , नारायण जोशी ( ६-१-१९-३ ) र शेर मल्लले ( २.५-१-६-३ ) समान तिन विकेट लिए। नरेन्द्र साउदले १ विकेट ( २-०-९-१ ) लिए।
सुदूरपश्चिम पहिलो र दोश्रो खेलमा प्रदेश-२ र लुम्बिनी प्रदेशसंग २ विकेटले पराजित भएको थियो। पहिलो खेलमा लुम्बिनी प्रदेशलाई १४० रनले पराजित गरेको कर्णालीको यो तेश्रो हार हो। दोश्रो खेलमा कर्णाली प्रदेश-१ संग ७६ रनले तथा तेश्रो खेलमा गण्डकी प्रदेशसंग ३ विकेटले पराजित भएको थियो।