युएईमा जारि आईसीसी महिला टि-२० विश्वकप छनोट ( एसिया क्षेत्र ) प्रतियोगिता अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल र युएई प्रतिस्पर्धा गरिरहेका छन्।
आईसीसी क्रिकेट एकेडेमी मैदानमा जारी खेलमा टस हारेर ब्याटिंग गरेको युएईले २० ओभरमा ५ विकेट क्षेतीमा १२७ रन बनाउदै नेपाललाई १२८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
युएईको लागि चमानी सेनाभिरात्नले सर्वाधिक ५२ रन योगदान दिईन् जुन क्रममा मात्र ३६ बलमा ७ चौका प्रहार गरिन्। यस्तै ओपनर थिर्था सतिशले ४६ बलमा ३ चौका मद्दतले ४७ रन बनाईन्। कभिशा इगोडागेले २२ रन योगदान दिईन्।
ओपनर इशा ओजा पहिलो ओभरमा आउट भएपछि दोश्रो विकेटको लागि सतिशले कभिशा इगोडागेसंग ५८ रनको साझेदारी गरिन्। एघारौं ओभरमा इगोडागेको विकेटपछि तेश्रो विकेटको लागि सतिशले चमानी सेनाभिरात्नसंग ४९ रनको साझेदारी गरिन्। सतीश अठारौ ओभरमा सिता राना मगर बाट बोल्ड भईन्।
नेपालको बलिंगमा कविता कुँवरले २ विकेट ( ४-०-२१-२ ) लिए भने सिता राना मगर ( ४-०-२४-१ ) , सबनम राई ( ४-०-३०-१ ) , संगीता राईले ( ३-०-२३-१ ) समान एक विकेट लिए।
प्रतियोगितामा सहभागी ६ टोलि मध्ये एउटा टिम मात्र आगामी वर्ष आयोजना हुने ग्लोबल छनोट प्रतियोगितामा छनोट हुने हुँदा नेपाल , युएई र हंगकंगलाई आजको खेलमा गर या मरको अवस्था छ। आजको खेल युएई, नेपाल र हंगकंग तिन वटै देशको लागि महत्वपूर्ण छ। तिन वटै देश शिर्ष स्थानमा पुग्ने सम्भावना छ।
प्रतियोगितामा ४ खेल खेल्दा ३ जित र १ हार बेहोरेको नेपाल ६ अंक सहित दोश्रो स्थानमा छ। अर्को तर्फ युएई भने ४ वटै खेल जित्दै ८ अंक सहित शिर्ष स्थानमा छ। तेश्रो नम्बरमा रहेको हंगकंगको पनि ४ खेलमा ३ जित र १ हार पछि ६ अंकनै छ।
नेपालले युएईलाई पराजित गरे तथा हंगकंगले कुवेतलाई पराजित गरे नेपाल, युएई र हंगकंगको समान ८ अंक हुनेछ। यो अवस्थामा नेट रन रेटमा अघि हुने टिम शिर्ष स्थानमा रही ग्लोबल छनोटमा पुग्नेछ।
नेपालको नेट रन रेट ( २.०८८ ) छ भने युएईको ( २.३९८ ) छ। युएई जितेको खण्डमा युएई स्वतः १० अंक सहित शिर्ष स्थानमा पुग्नेछ। नेपालको भन्दा युएईको नेट रन रेट ०.३१ रहेको हुँदा नेपालले थोरै अन्तरको जित दर्ता गरेता पनि नेट रन रेटमा युएईलाई पछि पार्न सक्छ। नेपालले पहिले ब्याटिंग गर्दै १२० रन बनायो र युएईले ११० रन बनायो भने नेपाल नेट रन रेटमा अघि हुनेछ। यदी युएईले पहिले ब्याटिंग गर्दै १२० रन बनायो र नेपालले उक्त लक्ष्य १८.४ ओभरसम्ममा भेटायो भने पनि नेपालले नेट रन रेटमा युएईलाई जित्नेछ।
अर्कोतर्फ हंगकंगले कमजोर टिम कुवेतको सामना गर्ने हुँदा हंगकंगको पनि शिर्ष स्थानमा पुग्ने सम्भावना प्रवल छ। यदी नेपालले युएईलाई पराजित गर्यो र हंगकंगले ठूलो अन्तरले कुवेतलाई पराजित गरे हंगकंग पनि शिर्ष स्थानमा आउन सक्छ। हाल हंगकंगको नेट रन रेट ०.४४७ छ। प्रतियोगितामा कुवेतले बनाएको सर्वाधिक योगफल ८० रन हो जुन जुन मलेसियासंग बनाएको थियो। कुवेतले युएईसंग ७६ रन बनाएको थियो भने भुटानसंग ७४ रन बनाउदा नेपालसंग २७ रन बनाएको थियो। कुवेतले कमजोर प्रदर्शन गरेको खण्डमा नेपालले युएईलाई पराजित गरेता पनि हंगकंगले नेट रन रेटमा नेपाल र युएईलाई पछि पार्न सक्छ।
त्यसैले नेपालले युएईलाई ठूलो अन्तरले पराजित गर्दै हंगकंगले ठूलो जित हात नपारोस् भन्ने कामना नेपाली टिमले गरेको छ। हंगकंग र कुवेतको खेल नेपाल र युएई भन्दा पछि रहेको हुँदा नेपाल र युएईको खेलपछि हंगकंगको शिर्ष स्थान पुग्ने समीकरण स्पस्ट हुनेछ।