डेब्यु गरिरहेका ब्याट्सम्यान श्रेयस ऐयर र विकेटकिपर रिद्धिमान शाहले राम्रो ब्याटिंग गर्दा पहिलो टेस्ट जित्न भारतले न्युजिल्यान्डलाई २८४ रनको चुनौतिपूर्ण योगफल दिएको छ।
टेस्टको दोश्रो इनिंग्समा घरेलु टोलि भारतले ७ विकेट क्षेतीमा २३४ रनमा इनिंग्स समाप्तिको घोषणा गरेको हो। चौंथो दिनको समाप्ति हुँदा दोश्रो इनिंग्समा ब्याटिंग सुरु गरेको न्युजिल्यान्डले ४ ओभरमा १ विकेट गुमाएर ४ रन बनाएको छ। विल योंगलाई रभीचन्द्रन आश्विनले एलबिडब्लु गरेपछि क्रिजमा २ रन बनाएर टम लाथम र खाता नखोली विलियम समर्सभिले ब्याटिंग गरिरहेका छन्। अन्तिम दिन जितको लागि न्युजिल्यान्डलाई २८० रन आवस्यक छ।
यस अघि आफ्नो दोश्रो इनिंग्समा भारतले ५१/५ को खराब अवस्थाबाट सम्हालिदै राम्रो योगफल बनाउन सक्यो। चेतेश्वर पुजारा २२, अजिंके रहाने ४, मायाँक अग्रवाल १७ तथा रभीन्द्र जडेजा खाता नखोली आउट भएपछि श्रेयस ऐयरले एक किनार सम्हाल्दै ब्याटिंग गरे। ऐयरले छैठौं विकेटको लागि रभीचन्द्रन आश्विनसंग ५२ रनको साझेदारी गरे। आश्विनलाई टिम साउदीले एलबिडब्लु गरेपछि सातौँ विकेटको लागि ऐयरले रिद्धिमान शाहसंग ६४ रन जोडे। १२५ बलमा ८ चौका र १ छक्का मद्दतले ६५ रन बनाएका ऐयरलाई साउदीले क्याच आउट गरे। आठौँ विकेटको लागि शाहले अक्षर पटेलसंग ६७ रनको साझेदारी गरेपछि भारतले इनिंग्स समाप्तिको घोषणा गर्यो। रिद्धिमान शाहले १२६ बलमा ४ चौका र १ छक्का मद्दतले अविजित ६१ तथा अक्षर पटेलले ६७ बलमा २ चौका र १ छक्का मद्दतले अविजित २८ रन बनाए।
न्युजिल्यान्ड बलर कायल जेमिसन ( १७-६-४०-३ ) र टिम साउदीले ( २२-२-७-३ ) समान तिन विकेट तथा एजाज पटेलले १ विकेट ( १७-३-६०-१ ) लिए।
टेस्टको पहिलो इनिंग्समा श्रेयस ऐयरको १०५ रन मद्दतले भारतले ३४५ रन बनाएको थियो। न्युजिल्यान्ड कप्तान टिम साउदीले ५ विकेट लिएका थिए। न्युजिल्यान्डले पहिलो इनिंग्समा टम लाथमको ९ तथा विल योंगले ८९ रन मद्दतले २९६ रन बनाएको थियो। भारतको बलिंगमा अक्षर पटेलले ५ विकेट लिएका थिए।