IPL : मुम्बईले ४ खेलाडीलाई गर्यो रिटेन, कति पाए रकम, कति रकम छ बाँकी

आईपीएलको सबैभन्दा सफल टिम मुम्बई इन्डीयन्सले आफ्ना चार खेलाडीहरुलाई रिटेन गरेको छ। मुम्बई आईपीएलको सबैभन्दा सफल टिम हो जसले पछिल्लो ९ सिजनमा ५ वटा उपाधि जितेको छ। टिमले आफ्नो कोर ग्रुपलाई कायमै राखेको हो।

मुम्बईले कप्तान रोहित शर्मा, जस्प्रित बुम्राह, सूर्यकुमार यादव र काइरन पोलार्डलाई रिटेन गरेको छ। यसको मतलब हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, इशान किशन, क्विन्टन डीकक र ट्रेन्ट बोल्टलाई टिमले बाहिर गरेको छ।

मुम्बईले रोहित शर्मालाई १६ करोड भारु ( २५ करोड, ५८ लाख, ९८ हजार नेपाली रुपैयाँ ) मा रिटेन गरेको हो। यस्तै जस्प्रित बुम्राहलाई १२ करोड भारु ( १९ करोड, १९ लाख, २३ हजार नेपाली रुपैयाँ ) मा, सूर्यकुमार यादवलाई ८ करोड भारु ( १२ करोड, ७९ लाख, ४९ हजार नेपाली रुपैयाँ ) , काइरन पोलार्डलाई ६ करोड भारु ( ९ करोड, ५९ लाख, ६१ हजार नेपाली रुपैयाँ ) मा रिटेन गरिएको हो।

४ खेलाडी रिटेन गर्दा ४२ करोड भारु खर्चिएपछि अब मुम्बईसंग अक्सनको लागि ४८ करोड भारु बाँकि रहेको छ।

मुम्बई कप्तान रोहित शर्माले रिटेन्सनको खेलाडी चयन गर्नु टिमको लागि कठिन भएको बताए- “यो मुम्बईको लागि कठिन रिटेन्सनको निर्णय थियो। हामीसंग गजबका खेलाडीहरु थिए जसलाई छोड्नु हृदयविदारक थियो। टिमको लागि उनीहरुले धेरै यादहरु दिएका छन्।”

२०७८ मंसिर १४, मंगलवार मा प्रकाशित