राखेपका नवनियुक्त सदस्य सचिवको पदभार ग्रहण

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव टङ्कलाल घिसिङले आज पद तथा गोपनियताको शपथ लिनुभएको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले सिंहदरबारस्थित मन्त्रालयमा घिसिङलाई शपथ गराउनुभएको हो । मन्त्री गहतराजले खेलकुद परिषद्ले राजनीतिभन्दा पनि खेलाडीको हकहितमा रहेर काम गर्नुपर्ने उल्लेख गर्दै खेलाडीको मनोबल उच्च बनाउन आफूले सक्दो प्रयास गर्ने बताउनुभयो । मन्त्रिपरिषद्को सोमबारको बैठकले घिसिङलाई सदस्य सचिव पदमा नियुक्त गरेको थियो । उहाँ चार वर्षका लागि नियुक्त हुनुभएको हो । घिसिङ नेपाल रग्बी सङ्घका अध्यक्ष हुनुहुन्थ्यो ।

उहाँले आजै राखेपमा पनि पदभार ग्रहण गर्नुभएको छ । राखेपका नवनियुक्त सदस्य सचिव घिसिङले राष्ट्रिय टोलीको सुधारलाई जोड दिने जनाउँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई कसरी सफलता दिलाउन सकिन्छ, त्यस विषयमा विशेष ध्यान दिने बताउनुभयो । उहाँले राष्ट्रिय टिम निर्माणका लागि आवश्यक तयारी रोकिएको र त्यसलाई सञ्चालन गर्ने तथा खेलाडीलाई बीमा गर्ने ठोस नीति कार्यक्रम नभएकाले यसलाई अगाडि बढाउने निर्णयसमेत आफूले गर्ने तयारी गरेको सुनाउनुभयो । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएयता छनोटबाट नियुक्त हुने घिसिङ दोस्रो सदस्य सचिव हुनुहुन्छ । यसअघि गत वर्ष असारमा ऐन लागू भएपछि रमेश सिलवाल पहिलो सदस्य सचिवका रुपमा नियुक्त हुनुभएको थियो ।

२०७८ मंसिर १५, बुधबार मा प्रकाशित