सनसनीपूर्ण खेलमा गण्डकीद्वारा प्रदेश-१ एक विकेटले पराजित

सनसनीपूर्ण खेलमा प्रदेश-१ लाई एक विकेटले पराजित गर्दै गण्डकी प्रदेशले यु-१९ राष्ट्रिय प्रतियोगितामा आफ्नो अन्तिम खेल खेल्ने क्रममा तेश्रो जित दर्ता गरेको छ।

टियु अन्तर्राष्ट्रिय मैदानमा प्रदेश-१ ले दिएको १३४ रनको लक्ष्य गण्डकीले ९ विकेट क्षेतीमा ३८ ओभरमा भेटायो।

लक्ष्य पछ्याउने क्रममा गण्डकीले ९७ रन बनाउदा मात्र २ विकेट गुमाएको थियो। तर २६ औं ओभरमा ओपनर अर्जुन कुमाललाई शर्वन किस्कुले क्याच आउट पारे पछि गण्डकीले लगातार विकेट गुमाउन पुग्यो। लभ कामतले ३ विकेट लिंदै दबाब बनाए भएन २९ औं ओभरमा देब्रे हाते स्पिनर दिपेश कंडेलले ३ विकेट लिंदै प्रदेश-१ लाई खेलमा हावी गराए। फलस्वरुप गण्डकी ९७/२ बाट ११६/९ को अवस्थामा पुग्यो।

जित्न १८ रन बाँकी रहेको अवस्थामा दशौँ विकेटको लागि सुदिप अर्याल र किरन पौडेलले विकेट नगुमाई टिमलाई जित दिलाए। जित्न १२ रन आवस्यक हुँदा ३८ औं ओभरमा अभिनय राजबंशीले तेश्रो बलमा चौका दिए भने लगत्तै बलमा नो बलमा किरनले चौका प्रहार गरे। ३ रन जित्न आवस्यक हुँदा सुमिरन राईले ३९ औं ओभरको पहिलो बलमा वाईडमार्फत ५ रन दिए।

गण्डकीको ब्याटिंगमा अर्जुन कुमालले सर्वाधिक ३५ रन, दिपक डुम्रेले ३३ रन, मिलन क्षेत्रीले २४ रन बनाए भने किरन पौडेलले अविजित १२ तथा सुदिप अर्यालले अविजित २ रन बनाए।

प्रदेश-१ को बलिंगमा दिपेश कंडेलले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा ७ मेडन ओभर गर्दै १० रन खर्चिए। यस्तै लभ कामतले ३ विकेट ( १०-२-२६-३ ) लिए। अभिनय राजबंशीले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको प्रदेश-१ ले ४४.४ ओभरमा १३३ रन बनाएको थियो। उसको लागि दिपेश कंडेलले सर्वाधिक ४६ रन, दिपक जोशीले १६, बिबेक मेहताले १४ तथा सोनु अन्सारीले १३ रन बनाए। ३० रनमा ४ विकेट गुमाएपछि दिपेशले एक किनार सम्हाल्दै ४२ औं ओभरसम्म ब्याटिंग गरेका थिए।

गण्डकी प्रदेशको बलिंगमा कमल परियारले ३ विकेट ( ६-१-१४-१ ) तथा सुदिप अर्यालले २ विकेट ( ७-२-८-२ ) लिए। किरन पौडेल ( ४-०-२३-१ ) , सुबास भण्डारी ( १०-६-१४-१ ) र बिष्णु पाण्डेले ( ७.४-२-२५-१ ) समान एक विकेट लिए।

जितको बाबजुद गण्डकी प्रदेश र प्रदेश-१ प्रतियोगिताको फाइनल दौडबाट बाहिर भएको छ। जित पछि गण्डकी प्रदेश ३ जित र ३ हार पछि ६ अंक सहित अंकतालिकाको तेश्रो स्थानमा उक्लेको छ। समान अंक रहेता पनि सुदूरपश्चिम दोश्रो तथा प्रदेश-१ चौंथो स्थानमा छ। दुवैको नेट रन रेट सुदूरपश्चिम र बागमतीको भन्दा कम रहेको हुँदा सुदूरपश्चिम र बागमती बीचको खेलमा सुदूरपश्चिम विजेता भए सुदूरपश्चिम फाइनल पुग्नेछ। यदी सुदूरपश्चिम पराजित भएको खण्डमा सुदूरपश्चिम, प्रदेश-१, बागमती र गण्डकी प्रदेशको समान ६ अंक हुनेछ। त्यो अवस्थामा नेट रन रेटमा बागमती र सुदूरपश्चिम मध्ये अघि हुने टिम फाइनल पुग्नेछ। लुम्बिनी प्रदेश १० अंक सहित फाइनल पुगीसकेको छ। फाइनल आइतबार खेलिनेछ।

२०७८ मंसिर १६, बिहीबार मा प्रकाशित