भारत बिरुद्ध जारि दोश्रो टेस्टको पहिलो इनिंग्समा सबै १० विकेट लिंदै न्युजिल्यान्डका ३३ वर्षीय देब्रे हाते स्पिनर एजाज पटेलले दुर्लभ कीर्तिमान बनाएका छन्। यो कीर्तिमान बनाउने उनि पहिलो देब्रे हाते स्पिनर बनेका छन्।
यस अघि जिम लेकर र अनिल कुम्बलेले मात्र टेस्टको एकै इनिंग्समा १० विकेट लिएका थिए। इंग्ल्यान्डका लेकरले अस्ट्रेलिया बिरुद्ध सन् १९५६ जुलाईमा म्यानचेस्टरमा तथा भारतका कुम्बलेले पाकिस्तान बिरुद्ध सन् १९९९ मा दिल्लीमा दुर्लभ स्पेल दर्ता गरेका थिए। पूर्व नेपाली राष्ट्रिय क्रिकेटर मेहबुब आलम सिमित ओभर अन्तर्राष्ट्रिय क्रिकेटमा एकै इनिंग्समा १० विकेट लिने पहिलो र एक मात्र क्रिकेटर हुन्।
भारतको मुम्बईमा १९८८ अक्टोबरमा जन्मिएका एजाज न्युजिल्यान्डको लागि मात्र एघारौं टेस्ट खेलीरहेका छन् जुन क्रममा पहिलो पटक आफ्नो जन्मभूमिमा खेल्दै दुर्लभ कीर्तिमान बनाएका हुन्। उनि भारतमा जन्मिएका पाँचौ न्युजिल्यान्ड क्रिकेटर हुन्। उनको परिवार उनि ८ वर्षको हुँदा न्युजिल्यान्डमा बस्न थालेको हो।
इनिंग्समा कुल ओभर १०९.५ ओभर मध्ये पटेलले ४७.५ ओभर बलिंग गर्दै १२ मेडन ओभर गर्दै ११९ रन खर्चिए। यस अघि न्युजिल्यान्ड बलरको टेस्ट क्रिकेटमा उत्कृस्ट स्पेल रिचर्ड हेडलीको हो जसले सन् १९८५ मा अस्ट्रेलिया बिरुद्ध ५२ रन खर्चेर ९ विकेट लिएका थिए।
मुम्बईको वानखेडे स्टेडियममा जारि टेस्टको पहिलो इनिंग्समा टस जितेर ब्याटिंग गरेको भारतले पहिलो दिन समाप्तिमा ७० ओभरमा २२१ रन बनाउदा ४ विकेट गुमाएको थियो। दोश्रो दिन थप ३९.५ ओभर ब्याटिंग गर्दा भारतले ३२५ रन बनाउदा सम्पूर्ण विकेट गुमायो। खाता नखोली अविजित रहेका उमेश यादव बाहेक पटेलले सबै विकेट लिए। एघारौं नम्बरका ब्याट्सम्यान मोहम्मद सिराजलाई क्याच आउट पार्दै उनले ऐतिहासिक सफलता हात पारे।
१० विकेट लिने क्रममा पटेलले क्रमशः शुबमन गिल, चेतेश्वर पुजारा, बिराट कोहली, श्रेयस ऐयर, रिद्दिमान शाह, रभीचन्द्रन आश्विन, मायाँक अग्रवाल, अक्षर पटेल, जयन्त यादव र मोहम्मद सिराजको विकेट लिए। उनले त्यसमध्ये दुई विकेट बोल्ड, तिन विकेट एलबिडब्लु र अन्य पाँच विकेट क्याच आउट गर्दै लिए।