भारत बिरुद्ध न्युजिल्यान्डको इतिहासकै कम योगफल

भारत र न्युजिल्यान्ड बीच भारतको मुम्बईमा जारि दोश्रो टेस्टको आफ्नो पहिलो इनिंग्समा न्युजिल्यान्ड भारत बिरुद्ध इतिहासकै कम योगफलमा समेटिएको छ।

भारतले पहिलो इनिंग्समा ३२५ रन बनाएपछि दोश्रो दिननै ब्याटिंग सुरु गरेको न्युजिल्यान्डले २८.१ ओभरमा ६२ रनमै सम्पूर्ण विकेट गुमाउन पुगेको हो। भारतले पहिलो इनिंग्समा २६३ रनको विशाल अग्रता हाँसिल गरेको छ। न्युजिल्यान्डको लागी कायल जेमिसनले सर्वाधिक १७ तथा टम लाथमले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। भारतको बलिंगमा रभीचन्द्रन आश्विनले सर्वाधिक ४ विकेट ( ८-२-८-४ ) लिए भने मोहम्मद सिराजले ३ विकेट ( ४-०-१९-३ ) , अक्षर पटेलले २ विकेट ( ९.१-३-१४-२ ) तथा जयन्त यादवले १ विकेट ( २-०-१३-१ ) लिए।

न्युजिल्यान्डले बनाएको ६२ रन भारत बिरुद्ध कुनै पनि देशले टेस्ट क्रिकेट इतिहासमा बनाएको सबैभन्दा कम योगफल हो। यस अघि दक्षिण अफ्रीकाले सन् २०१५ मा बनाएको ७९ रन भारत बिरुद्ध कुनै पनि देशको सबैभन्दा कम योगफल थियो। भारत बिरुद्ध न्युजिल्यान्डको सबैभन्दा कम योगफल यस अघि २००२ मा ह्यामिल्टनमा बनाएको ९४ रन थियो। यस अघि भारतमा सबैभन्दा कम योगफलमा समेटिने टिम वेस्टइन्डिज थियो जसले १९८७ मा ७५ रन बनाएको थियो।

न्युजिल्यान्डको टेस्ट क्रिकेट इतिहासको यो छैठौं कम योगफल हो। सन् १९५५ मा इंग्ल्यान्ड बिरुद्ध न्युजिल्यान्ड सबैभन्दा कम २६ रनमा समेटिएको थियो। यो भन्दा कम न्युजिल्यान्ड १९४६ मा अस्ट्रेलिया बिरुद्ध ४२ रन, २०१३ मा दक्षिण अफ्रीका बिरुद्ध ४५ रन, १९५८ मा इंग्ल्यान्ड बिरुद्ध ४७ रन तथा १९४६ मा अस्ट्रेलिया बिरुद्ध ५२ रनमा समेटिएको थियो।

टेस्टको पहिलो इनिंग्समा टस जितेर ब्याटिंग गरेको भारतले मायाँक अग्रवालको १५० रन मद्दतले ३२५ रन बनाएको थियो। न्युजिल्यान्डका देब्रे हाते स्पिनर एजाज पटेलले भारतको सबै १० विकेट लिंदै दुर्लभ कीर्तिमान बनाएका थिए।

२०७८ मंसिर १८, शनिबार मा प्रकाशित