यू–१९ फाइनल : कप्तान देव र बिशालको अर्धशतकमा लुम्बिनीको चुनौतीपूर्ण योगफल

यू-१९ एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनल खेलमा हाल लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् ।

खेलमा टस हारेर ब्याटिंगको निम्तो पाएको लुम्बिनी प्रदेशले निर्धारित ५० ओभरमा सम्पूर्ण विकेट गुमाएर २१२ रन बनाउँदै सुदूरपश्चिमलाई २१३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

लुम्बिनीको ब्याटिंगतर्फ कप्तान देव खनालले ९५ बलमा ५ चौका र ४ छक्काको मद्धतमा सर्वाधिक ७० रन बनाए । यस्तै, बिशाल बिक्रम केशीले ५१, दुर्गेश गुप्ताले ३२ तथा प्रज्ज्वल थापाले २४ रनको योगदान दिए ।

पहिलो ओभरमै आकाश त्रिपाठी खाता नखोल्दै आउट भएपछि कप्तान देव खनाल र प्रज्ज्वल थापाले दोस्रो विकेटका लागि ७९ रनको साझेदारी गरे । आकाश चन्दले प्रज्ज्वल र देवलाई आउट पारेपछि विशाल बिक्रम केशीले दबाबपूर्ण अवस्थामा अर्धशतक बनाउँदै लुम्बिलाई चुनौतिपूर्ण योगफलतर्फ डोर्याए । अन्तिममा दुर्गेश गुप्ताले ३२ रनको पारि खेल्दै लुम्बिनीको योगफल २०० रन पार गराएका थिए ।

सुदूरपश्चिमको बलिंगतर्फ आकाश चन्दले ( १०-०-४७-३) सर्वाधिक ३ तथा शेर मल्ल ( १०-१-१७-२ ) र हेमन्त धामीले ( १०-२-३७-२) समान २ विकेट लिए । यस्तै, नरेन साउद र राहुल भण्डारीको नाममा समान १ विकेट रह्यो ।

२०७८ मंसिर १९, आईतवार मा प्रकाशित