बंगलादेश बिरुद्ध साजिदको इतिहासकै उत्कृस्ट स्पेल

पाकिस्तानी अफस्पिनर साजिद खानले बंगलादेश बिरुद्ध ढाकामा जारि दोश्रो टेस्टमा कीर्तिमानी बलिंग गरेका छन्।

टेस्टको पहिलो इनिंग्समा पाकिस्तानले ३००/४ को योगफलमा इनिंग्स समाप्तिको घोषणा गरेपछि ब्याटिंग गरेको बंगलादेशले पहिलो इनिंग्समा ८७ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो र फलो अन पायो। यस क्रममा साजिद एक्लैले ८ विकेट लिएका हुन्। २८ वर्षीय स्पिनरले १५ ओभर बलिंग गर्दै ४ मेडन ओभर सहित ४२ रन खर्चिएका थिए।

साजिदको स्पेल ( १५-४-४२-८ ) बंगलादेश बिरुद्ध टेस्ट क्रिकेट इतिहासमै उत्कृस्ट स्पेल हो। यस अघि अस्ट्रेलियाका लेग स्पिनर स्टुवार्ट म्याकगिलले सन् २००६ मा बंगलादेश बिरुद्ध ८ विकेट लिएका थिए जुन क्रममा ३३.३ ओभरमा २ मेडन ओभर गर्दै १०८ रन खर्चेका थिए। साजिद र म्याकगिल बाहेक अन्य बलरले बंगलादेश बिरुद्ध ८ विकेट लिएका छैनन्।

यस्तै साजिदको स्पेल टेस्ट क्रिकेटमा पाकिस्तानी बलरको इतिहासकै चौंथो उत्कृस्ट स्पेल हो। पाकिस्तानी बलरको सबै भन्दा उत्कृस्ट स्पेलको रेकर्ड लेग स्पिनर अब्दुल कादिरको नाममा छ जसले सन् १९८७ मा इंग्ल्यान्ड बिरुद्ध लाहोरमा ९ विकेट (३७-१३-५६-९) लिएका थिए। दोश्रो उत्कृस्ट सरफराज नवाजले अस्ट्रेलिया बिरुद्ध १९७९ मा मेलबर्नमा ९ विकेट ( ३५.४x८-७-८६-९ ) लिएका थिए। तेश्रो उत्कृस्ट यासिर शाहले २०१८ मा न्युजिल्यान्ड बिरुद्ध दुबईमा ८ विकेट ( १२.३-१-४१-८ ) लिएका थिए। टेस्टमा मात्र ७ जना बलरले पाकिस्तानको लागि ८ वा सो भन्दा बढी विकेट लिएका छन्।

साजिदले यसै वर्ष अप्रिलमा जिम्बाब्वे बिरुद्ध टेस्ट डेब्यु गरेका थिए।

२०७८ मंसिर २२, बुधबार मा प्रकाशित