ट्राभीस हेडले आक्रमक शतक बनाउदा ब्रिसबेनमा जारि एसेज सिरिजको पहिलो टेस्टको दोश्रो दिन समाप्तिमा अस्ट्रेलियाले बलियो अग्रता हाँसिल गरेको छ।
टेस्टको दोश्रो दिन समाप्तिमा घरेलु टोलि अस्ट्रेलियाले ८४ ओभर ब्याटिंग गर्दा ७ विकेट क्षेतीमा ३४३ रन बनाएको छ। पहिलो इनिंग्समा अस्ट्रेलियाले १९६ रनको अग्रता हाँसिल गरेको छ।
दिनको समाप्तिमा क्रिजमा ट्राभीस हेड अविजित ११२ तथा मिचेल स्टार्क १० रन बनाएर अविजित छन्। दुवैले आठौँ विकेटको लागि ३७ रनको साझेदारी गरेका छन्। तेश्रो टेस्ट शतक पुरा गरेका हेडले ९५ बलमा १२ चौका र २ छक्का प्रहार गरेका छन्। उनले मात्र ८५ बलमा शतक पुरा गरेका थिए जुन टेस्ट क्रिकेटमा अस्ट्रेलियन ब्याट्सम्यानको इतिहासकै आठौं छिटो शतक हो।
ओपनर मार्कस ह्यारिस ३ रन बनाएर आउट भएपछि दोश्रो विकेटको लागि डेभिड वार्नरले मार्नस लाबुसेनसंग १५६ रनको साझेदारी गरेका थिए। ११७ बलमा ६ चौका र २ छक्का मद्दतले ७४ रन बनाएका लाबुसेनलाई ज्याक लिचले क्याच आउट पारे। त्यसपछि स्टिभ स्मिथ १२ रन बनाएर मार्क वुडबाट क्याच आउट भए। ओली रोविन्सनले एकै ओभरमा डेभिड वार्नर र क्यामरन ग्रिनलाई क्याच आउट पार्दै इंग्ल्यान्डलाई हावी गराए। शतक बनाउन ६ रनले चुकेका वार्नरले १७६ बलमा ११ चौका र २ छक्का मद्दतले ९४ रन बनाए। त्यसपछि पाँचौ नम्बरमा आएका हेडले एक किनार सम्हाल्दै एलेक्स केरीसंग छैठौं विकेटको लागि ४१ रनको तथा सातौँ विकेटको लागि प्याट कमिन्ससंग ६० रनको साझेदारी गरे। केरी र कमिन्स दुवै १२ रन बनाएर आउट भए।
इंग्ल्यान्ड बलर ओली रोबिन्सनले ३ विकेट ( १८-८-४८-३ ) लिंदा क्रिस वोक्स ( २०-७-५६-१ ) , मार्क वुड ( २०-४-५७-१) , ज्याक लिच ( ११-०-९५-१ ) र जो रुटले ( ६-०-२९-१ ) ले समान एक विकेट लिएका छन्।
कप्तान प्याट कमिन्सले ५ लिंदा इंग्ल्यान्डले पहिलो इनिंग्समा १४७ रन मात्र बनाउन सकेको थियो।