कर्पोरेट ब्याडमिन्टनको टोलिहरु सार्वजनिक

काठमाडौँ, मङ्सिर २३ गते । काठमाडौं ब्याडमिन्टन एकेडेमीको आयोजनामा पुस ६ देखि ९ गतेसम्म आयोजना हुन लागेको काठमाडौँ टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा सहभागी टोलीको नाम सार्वजनिक गरेको छ ।

एकेडेमीले बिहीबार पत्रकार सम्मेलन गरेर टोली सार्वजनिक गरेको हो । च्याम्पियनसिपमा नेपाल आयल निगम, नेपाल राष्ट्र बैंक, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, कुमारी बैंक, कान्तिपुर पब्लिकसन, आईएमई ग्रुप र सिल्क ग्रुप रहेका छन् ।

हरेक टोलीबाट नेपालका शीर्ष वरियतामा रहेका आठ पुरुष र महिला ब्याडमिन्टन खेलाडीको सहभागिता रहनेछ । सहभागी टोलीले बिहीबारनै गोलाप्रथाबबाट खेलाडीको छनोट गरेका हुन् । जस अनुसार दिपेश धामी र अमिता गिरी राष्ट्र बैंकमा, विष्णु कटवाल र रशिला महर्जन आयल निगममा, सुदिप सेढाई र सुनैना मुखिया कुमारी बैंकमा अनुबन्धित हुनुभएको छ ।

यसैगरी रत्नजित तामाङ र सिमा राजवंशी नेपाल टेलिकममा, दीपक बोहरा र सोभा गौचन, नेपाल विधुत प्राधिकरणमा, साजनकृष्ण ताम्राकार र सम्झना शर्मा कान्तिपुरमा, नविन श्रेष्ठ र नङशल तामाङ आईएमईमा तथा किाश श्रेष्ठ र अनु माया राइ सिल्क ग्रुपमा अनुबन्ध हुनुभएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा हुने च्याम्पियनसिपमा सहभागी टोलीले मेन्स सिंगल्स, वुमेन्स सिगल्स, कर्पोरेट डबल्स, मेन्स डबल्स र वुमेन्स डबल्स गरी पाँच स्पर्धामा प्रतिस्पर्धा गर्ने आयोजक एकेडेमीका सचिव दिपक थापाले जानकारी दिनुभयो ।

विजेता टिमका खेलाडीले ७५ हजार, उपविजेताले ६० हजार, तेस्रो हुनेले ५५ हजार र चौथो स्थान हात पार्ने खेलाडीलाई ४७ हजार पाँच सय रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

( साभार – गोरखापत्र )

२०७८ मंसिर २४, शुक्रबार मा प्रकाशित