तेश्रो दिनको समाप्तिमा आफ्नो दोश्रो इनिंग्स २२०/२ को अवस्थाबाट चौंथो दिन ब्याटिंग सुरु गरेको इंग्ल्यान्डले योगफलमा थप ७७ रन जोड्दा सम्पूर्ण विकेट गुमाउन पुगेपछि २० रनको सामान्य लक्ष्य १ विकेट गुमाएर पछ्याउदै अस्ट्रेलियाले एसेज सिरिजको पहिलो टेस्ट ९ विकेटले जितेको छ।
चौंथो दिन सुरुवातमा ८० रनमा अविजित रहेका डेविड मलान र ८६ रनमा अविजित रहेका जो रुट लामो समय क्रिजमा जम्न सकेनन्। दुई ब्याट्सम्यान बीचको १६२ रनको साझेदारी नाथन लायनले ८२ रन बनाएका मलानलाई क्याच आउट गर्दै तोडे। त्यसपछि रुट पनि ८९ रन बनाएर क्यामरन ग्रिनबाट क्याच आउट भए। त्यसपछि बेन स्टोक्स र जोस बटलरले छैठौं विकेटको लागि ३२ रनको साझेदारी गरे। स्टोक्स १४ तथा बटलर २३ रन बनाएर आउट भए जसपछि इंग्ल्यान्डले लगातार विकेट गुमाउन पुग्दा २९७ रनमा सिमित बन्यो।
अस्ट्रेलियाको बलिंगमा नाथन लायनले सर्वाधिक ४ विकेट ( ३४-५-९१-४ ) तथा कप्तान प्याट कमिन्स ( २०-६-५१-२ ) र क्यामरन ग्रिनले ( १२-३-२३-२ ) ले समान दुई विकेट लिए। लायनले टेस्ट क्रिकेटमा ४ सय विकेट समेत पुरा गरेका छन् जो यो कीर्तिमान बनाउने विश्वकै १७ औ खेलाडी हुन्।
टेस्टको पहिलो इनिंग्समा इंग्ल्यान्डले १४७ रन बनाएको थियो भने अस्ट्रेलियाले पहिलो इनिंग्समा ४२५ रन बनाएको थियो।
पहिलो इनिंग्समा १५२ रन बनाएका अस्ट्रेलियन ब्याट्सम्यान ट्राभीस हेड प्लेयर अफ द म्याच चुनिए। सिरिज अन्तर्गत दोश्रो टेस्ट डिसेम्बर १६ तारिखबाट एडीलेड ओभलमा सुरु हुनेछ।