प्रतिस्पर्धात्मक दोश्रो खेलमा वेस्टइन्डिजलाई ९ रनले पराजित गर्दै घरेलु टोलि पाकिस्तानले तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिज एक खेल अगावै २-० ले जितेको छ। पहिलो खेल पाकिस्तानले ६३ रनले जितेको थियो।
नेसनल स्टेडियम कराँचीमा सम्पन्न खेलमा पाकिस्तानले दिएको १७३ रनको लक्ष्य पछ्याउने क्रममा वेस्टइन्डिजले २० ओभर ब्याटिंग गरेता पनि सबै विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो। उसको लागि ब्राण्डन किंगले सर्वाधिक ६७ रन, रोमारीयो शेफर्डले ३५ रन तथा निकोलस पुरनले २६ रन योगदान दिए।
लक्ष्य पछ्याउने क्रममा ओपनर शाई होप र तेश्रो नम्बरका शम्राह ब्रुक्स छिट्टै पेभेलियन फर्किए। तेश्रो विकेटको लागि अर्का ओपनर ब्रेण्डन किंगले कप्तान निकोलस पुरनले ५४ रनको साझेदारी गरे। एघारौं ओभरमा पुरन २६ रन बनाएर आउट भए। त्यसपछि रोभम्यान पावेल क्रिजमा जम्न सकेनन्। १६ औं ओभरमा ब्रेण्डन किंगलाई हरिस रौफले क्याच आउट पारे जति बेला वेस्टइन्डिज ११८/५ को अवस्थामा थियो। इनिंग्सको १७ औं ओभरमा शाहिन अफ्रिदीले ३ विकेट लिंदै पाकिस्तानलाई हावी गराए। अन्तिममा रोमारियो शेफर्डले आक्रामक सटहरु प्रहार गरेता पनि जितको लागि पर्याप्त रहेन।
पाकिस्तानको बलिंगमा शाहिन अफ्रिदीले तिन विकेट ( ४-०-२६-३ ) तथा मोहम्मद नवाज ( ४-०-३६-२ ) , मोहम्मद वासिम ( ४-०-३९-२ ) र हरिस रौफले ( ४-०-४०-२ ) समान दुई विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट क्षेतीमा १७२ रन बनाएको थियो। उसको लागि मोहम्मद रिजवानले सर्वाधिक ३८, इफ्तिखार एहमदले ३२, हैदर अलिले ३१ तथा शदाब खानले अविजित २८ रन बनाए। वेस्टइन्डिजको बलिंगमा ओडेन स्मिथले २ विकेट ( ३-०-२४-२ ) लिए भने अकेल होसेन , ओशेन थोमस, रोमारियो शेफर्ड र हेडन वाल्सले समान एक विकेट लिए।
शदाब खान खेलको प्लेयर अफ द म्याच चुनिए जसले विकेट नलिएता पनि ४ ओभरमा मात्र २२ रन खर्चेका थिए।
सिरिज अन्तर्ग तेश्रो तथा अन्तिम खेल डिसेम्बर १६ तारिखमा खेलिनेछ। त्यसपछि दुई देश बीच डिसेम्बर १८ तारिख देखि तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज सुरु हुनेछ।