वानडे कप्तानी विवाद बारे पहिलो पटक बोले कोहली “डेढ घण्टा अघि सम्पर्क गरिएको थियो”

भारतको एकदिवसीय टिमको कप्तानीबाट हटाइएपछि भारतीय टेस्ट कप्तान बिराट कोहलीले पहिलो पटक प्रतिक्रिया दिएका छन्। कोहलीले प्रेस कन्फरेन्समार्फत आफूलाई कप्तानबाट हटाउनु अघि भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई ) अध्यक्ष सौरभ गांगुलीले सम्बाद गरेको दावीलाई गलत सावित समेत गरेका छन्। यस्तै कोहलीले सम्पूर्ण हल्लाहरुलाई गलत सावित गर्दै दक्षिण अफ्रीका भ्रमणको लागि आफु तयार रहेको समेत बताएका छन्।

डेढ घण्टा पहिले जानकारी गराइयो : कोहलीलाई वानडे कप्तानबाट हटाउदा बिसीसीआईले कोहलीलाई ४८ घण्टा समय दिएको बताएको थियो। तर कोहलीले उनलाई डेढ घण्टा अगाडी मात्र सम्पर्क गरेर आफुलाई कप्तानबाट हटाइएको जानकारी गराएको बताएका छन्।

“छनोट समितिको बैठक ( ८ डिसेम्बर ) हुनु अघि मलाई डेढ घण्टा अघि सम्पर्क गरिएको थियो जस अघि मसंग कुनै पनि किसिमको सम्बाद गरिएको थिएन। मलाई बैठक अघि सम्पर्क गरियो र प्रमुख छनोटकर्तासंग टेस्ट टिम बारे कुरा भयो जसमा मेरो सहमति थियो। र उक्त कुराकानी अन्त्य गर्ने क्रममा मलाई एकदिवसीय कप्तानी नरहेको जानकारी गराइयो। मैले “हुन्छ ठिक छ” भने। र त्यसपछि छनोट बारे कुराकानी हुँदा हामीले विस्तारमा कुरा गर्यौं। त्यही भएको हो। हामि बीच त्यस बाहेक अन्य कुनै वार्तालाप भएको छैन।” कोहलीले बताए।

कोहलीको बयान पछि भारतीय क्रिकेटमा फेरी हलचल मचिएको छ। बिसीसीआईले कोहलीको स्थानमा रोहित शर्मालाई एकदिवसीय अन्तर्राष्ट्रियको कप्तानी सुम्पेको थियो।

कोहलीले दक्षिण अफ्रीका बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा आराम गर्ने हल्लाहरु समेत निराधार बताउदै एकदिवसीय र त्यसपछि टेस्ट सिरिज समेत खेल्न आफु “सधैं तयार” भएको बताएका छन्।

“म छनोटको लागि तयार थिएँ र छु। मैले बिसीसीआईलाई आराम गर्छु भनेको छैन। जसले पनि आफ्नो आफ्नो श्रोतलाई आधार मानेर लेखिरहेका छन् मेरो लागि उनीहरु विश्वसनीय छैनन्। मैले भने जस्तै म एकदिवसीय छनोटको लागि तयार छु र दक्षिण अफ्रीकामा खेल्न उत्साहित छु।”

भारतले दक्षिण अफ्रीका भ्रमण अन्तर्गत डिसेम्बर २६ तारिख देखि तिन वटा टेस्ट तथा जनवरी १९ देखि तिन वटा एकदिवसीय सिरिज खेल्ने तालिका छ।

२०७८ मंसिर २९, बुधबार मा प्रकाशित