कप्तान बाबर आजम र मोहम्मद रिजवानले शानदार ब्याटिंग गर्दा वेस्टइन्डिजलाई तेश्रो खेलमा ७ विकेटले पराजित गर्दै पाकिस्तानले तिन खेलको टि-२० सिरिज क्लिन स्विप गरेको छ।
पाकिस्तानको नेसनल स्टेडियम कराँचीमा सम्पन्न खेलमा वेस्टइन्डिजले दिएको २०८ रनको विशाल लक्ष्य पाकिस्तानले ७ बल बाँकी रहँदै भेटायो। टि-२० अन्तर्राष्ट्रियमा पाकिस्तानले पछ्याएको यो सबैभन्दा ठूलो लक्ष्य हो।
टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्टइन्डिज बिरुद्ध कुनै पनि टिमले पछ्याएको यो संयुक्त रुपमा सर्वाधिक लक्ष्य हो। यस अघि भारतले २०१९ मा २०८ रनको लक्ष्य पछ्याएको थियो। यस्तै पाकिस्तानले बनाएको २०८ रन उसको टि-२० अन्तर्राष्ट्रिय इतिहासकै दोश्रो सर्वाधिक हो। यस अघि यसै वर्ष इंग्ल्यान्ड बिरुद्ध पाकिस्तानले सर्वाधिअक २३२ रन बनाएको थियो।
लक्ष्य पछ्याउने क्रममा पाकिस्तान ओपनर मोहम्मद रिजवान र बाबर आजमले १५८ रनको साझेदारी गरे। १६ औं ओभरमा आउट हुनु अघि आजमले ७९ रन बनाए जुन क्रममा ५३ बलमा ९ चौका र २ छक्का प्रहार गरे। यस्तै १८ औं ओभरमा आउट भएका रिजवानले ४५ बलमा १० चौका र ३ छक्का मद्दतले ८६ रन बनाए। त्यसपछि आसिफ अलिले आक्रामक ब्याटिंग गर्दै ७ बलमा २ छक्का र २ चौका मद्दतले २१ रन बनाउदै टिमलाई जितसम्म पुर्याए।
वेस्टइन्डिजको बलिंगमा रोमारियो शेफर्ड, डोमिनिक ड्रेक्स र ओडेन स्मिथले समान एक विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग गरेको वेस्टइन्डिजले २० ओभरमा ३ विकेट क्षेतीमा २०७ रन बनाएको थियो। उसको लागि कप्तान निकोलस पुरनले सर्वाधिक ६४ रन बनाए जुन क्रममा ३७ बलमा २ चौका र ६ छक्का प्रहार गरे। यस्तै शामराह ब्रुक्सले ४९, ब्राण्डन किंगले ४३ तथा डेरेन ब्राभोले अविजित ३४ रन बनाए। किंग र ब्रुक्सले ६६ रनको ओपनिंग साझेदारी तथा पुरन र ब्राभोले तेश्रो विकेटको लागि ९३ रनको साझेदारी गरे।
पाकिस्तानको बलिंगमा मोहम्मद वासिमले २ तथा शाहनवाज दहानीले १ विकेट लिए।
सिरिज अन्तर्गत पहिलो र दोश्रो खेल पाकिस्तानले ६३ रन र ९ रनले जितेको थियो।