Big Bash : चौंथो खेलमा सन्दिप विकेटविहिन

अस्ट्रेलियामा जारि बिग ब्यास लिग अन्तर्गत चौंथो खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने विकेटविहिन भएका छन्।

होबार्टको घरेलु मैदान बेलीरिभ ओभलमा जारि खेलमा टस जितेर ब्याटिंग रोजेको पर्थले २० ओभरमा ७ विकेट क्षेतीमा १६७ बनाएको छ। पर्थको लागि ओपनर कर्टिस प्याटरसनले सर्वाधिक ७८ रन बनाए। होबार्टको बलिंगमा जोर्डन थंपसनले ३, टम रोजर्सले २ तथा राइली मेरेडीथले १ विकेट लिए।

होबार्ट हरिकेन्सको प्रतिनिधित्व गरिरहेका सन्दिपले पर्थ स्करचर्स बिरुद्ध खेलमा ४ ओभरमा ३९ रन खर्चेका हुन्। स्पेलको पहिलो ओभरमा उनले १४ रन खर्चिएका थिए त्यसपछि दोश्रो ओभरमा ७ रन, तेश्रो ओभरमा १३ तथा चौंथो ओभरमा ६ रन मात्र खर्चिए।

सन्दिपको पहिलो ओभर : पाँचौ ओभरमा स्पेल सुरुवात गरेका सन्दिपको पहिलो बलमै मिचेल मार्शले स्लग स्विप गर्दै छक्का प्रहार गरे। ओभरको तेश्रो बलमा कर्टिस प्याटरसनले चौका प्रहार गरे । ओभर समरी ( ६ १ ४ १ १ १ )

सन्दिपको दोश्रो ओभर : सातौं ओभरमा दोश्रो ओभर गरेका सन्दिपले कसिलो बलिंग गरे। खेलमा ७८ रन बनाउदै प्लेयर अफ द म्याच चुनिएका कर्टिस प्याटरसनले ३२ रनको अवस्थामा जीवनदान पाए। सन्दिपको गुग्लीमा अगाडी बढेर खेने क्रममा विकेटकिपर म्याथु वेडले स्टम्पिंग छुटाउन पुगे। यस अघि सिड्नी बिरुद्धको खेलमा पनि वेडले स्टम्पिंग छुटाएका थिए। उक्त खेलमा सन्दिपको दुई वटा क्याच समेत छुट्न पुगेको थियो। ओभरको पहिलो ४ बलमा मात्र २ रन दिएका उनलाई पाँचौ बलमा प्याटरसनले चौका प्रहार गरे। ओभर समरी ( ० १ १ ० ४ १ )

सन्दिपको तेश्रो ओभर : बाह्रौं ओभरमा तेश्रो ओभर बलिंग गरेका सन्दिपलाई दोश्रो बलमा प्याटरसनले स्लग सिप गर्दै छक्का प्रहार गरे। ओभरको अन्तिम बलमा पनि प्याटरसनले पुनः स्लग गर्दै डिप मीड-विकेटमा चौका प्रहार गरे। ओभर समरी ( लेगबाई १ ६ १ ० १ ४ )

सन्दिपको चौंथो ओभर : इनिंग्सको अठारौं ओभरमा बलिंग गरेका सन्दिपले राम्रो बलिंग गरे। डेथ ओभरमा कसिलो बलिंग गर्ने क्रममा उनले एस्ट एगर र लौरी इभान्सलाई खुलेर खेल्न दिएनन्। तेश्रो बलमा एगरले क्याच उठाएता पनि बलर र लंगअन फिल्डरको बीचमा बल खस्दा उनि विकेटविहिन रहनु पर्यो। ओभर समरी ( १ १ २ १ ० १ )

लिग अन्तर्गत सन्दिपले यस अघि सिड्नी सिक्सर्स बिरुद्ध पहिलो खेलमा एक विकेट ( ४-०-२४-१ ) लिएका थिए भने दोश्रो खेलमा सिड्नी बिरुद्ध विकेटविहिन रहेता पनि किफायती बलिंग ( ४-०-२४-० ) गरेका थिए। यस्तै तेश्रो खेलमा पर्थ स्करचर्स बिरुद्ध उनले १ विकेट ( ४-०-३१-१ ) लिएका थिए भने ब्याटिंगमा पनि अविजित १३ रन बनाएका थिए।

लिगमा होबार्टले आगामी खेल डिसेम्बर २४ तारिख ( शुक्रबार ) मेलबर्न स्टार्स बिरुद्ध खेल्ने तालिका छ।

२०७८ पुष ५, सोमबार मा प्रकाशित