गण्डकी प्रदेशलाई ९ विकेटले सहजै पराजित गर्दै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-ट्वान्टी प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
धनगढीको फाप्ला मैदानमा सम्पन्न समुह ‘बि’ अन्तर्गतको खेलमा गण्डकी प्रदेशले दिएको ३२ रनको लक्ष्य सुदूरपश्चिमले १ विकेट क्षेतीमा २.१ ओभरमा भेटायो। सुदूरपश्चिमको लागि कविता जोशीले ८, शोभा रोकायाले ५ रन बनाए। गण्डकी बलर मनिषा उपाध्यायले १ विकेट हात पारिन्।
यस अघि टस जितेर ब्याटिंग गरेको गण्डकीले १८ ओभरमा सम्पूर्ण विकेट गुमाएर ३१ रन बनाएको थियो। उसको लागि पेम्लामु शेर्पाले सर्वाधिक ६ रन, स्रिस्टि जैसीले ५ रन योगदान दिए। १९ रनमा १ विकेट गुमाएको अवस्थाबाट थप १२ रन जोड्दा उसले सम्पूर्ण विकेट गुमाउन पुग्यो।
सुदूरपश्चिमको बलिंगमा दिपा जोरा ( ३-०-५-२ ) र कविता जोशी ( ४-२-३-२ ) ले समान दुई विकेट तथा कविता कुनार ( ४-१-८-१ ) र इश्वरी बिस्टले ( ३-०-८-१ ) समान एक विकेट लिए।
प्रतियोगिता अन्तर्गत आजै सम्पन्न समुह ‘बि’ अन्तर्गतको पहिलो खेलमा एपिफले प्रदेश नम्बर-२ लाई ४८ रनले पराजित गर्दै विजयी सुरुवात गय्रो।
प्रतियोगिता अन्तर्गत भोलि दुई खेल हुनेछन्। पहिलो खेलमा बिहान ९ बजे प्रदेश-१ र लुम्बिनी प्रदेश तथा दिउँसो बागमती प्रदेश र कर्णाली प्रदेश बीच प्रतिस्पर्धा हुनेछ। समुह ‘ए’ बाट प्रदेश-१ र लुम्बिनी सेमीफाइनल प्रवेश गरिसकेका छन्।