एपीएफसंग सुदूरपश्चिम निरिह, करुणाको घातक बलिंग

सुदुरपश्चिम प्रदेशलाई सहजै ८९ रनले पराजित गर्दै शशस्त्र प्रहरी बल ( एपीएफ ) ले धनगढीमा जारि प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगितामा दोश्रो जित दर्ता गरेको छ। पहिलो खेलमा एपीएफले प्रदेश-२ लाई ४८ रनले पराजित गरेको थियो।

फाप्ला क्रिकेट मैदानमा संपन्न खेलमा एपीएफले दिएको १२९ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले १४ ओभरमा ३९ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। सुदूरपश्चिमको लागि रुबी पोद्दार र ऋतु कनौजियाले समान १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

एपीएफको बलिंगमा अफस्पिनर करुना भण्डारीले सर्वाधिक ४ विकेट हात पारिन् जुन क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै ७ रन खर्चिन्। सोनु खड्का, रेखा रावल, सुमन बिस्ट र सिता राना मगरले समान एक विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको एपीएफले २० ओभरमा ७ विकेट क्षेतीमा १२८ रन बनाएको थियो। एपीएफको ब्याटिंगमा इन्दु बर्माले सर्वाधिक ३३ रन, राजमती ऐरीले १९ रन, सरिता मगरले १८ रन, रोमा थापाले १६ रन तथा ममता चौधरीले १४ रन योगदान दिए। ज्योति र इन्दुले ४३ रनको ओपनिंग साझेदारी गरेका थिए।

सुदुरपश्चिमको बलिंगमा ऋतु कनौजियाले ३ व्केट ( ४-०-१८-३ ) लिए भने कविता जोशी ( ४-०-३२-२ ) र दिपा जोराले ( ४-०-३६-२ ) समान दुई विकेट लिए।

जितपछि एपीएफ २ खेलमा २ जित सहित ४ अंक बटुल्दै समुह ‘बि’ को शिर्षमा छ। सुदूरपश्चिम २ खेलमा एक जित र १ हार पछि २ अंक सहित दोश्रो स्थानमा छ। प्रदेश-२ र गण्डकी एक/एक खेलमा हार पछि तेश्रो र चौंथो स्थानमा छ। समुह ‘ए’ बाट प्रदेश-१ र लुम्बिनी प्रदेश सेमीफाइनल प्रवेश गरिसकेका छन्।

२०७८ पुष ७, बुधबार मा प्रकाशित