टेस्ट राष्ट्र आयरल्याण्ड बिरुद्ध अमेरिकाको ऐतिहासिक जित

आयरल्याण्डको अमेरिका भ्रमण अन्तर्गत दुई वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो खेलमा अमेरिका २६ रनले विजयी भएको छ। टेस्ट रास्ट्रलाई पहिलो पटक आतिथ्य गरेको अमेरिकाको टेस्ट राष्ट्र बिरुद्ध इतिहासकै पहिलो टि-२० अन्तर्राष्ट्रिय जित समेत हो।

फ्लोरिडा स्थित ब्रोवार्ड रिजनल पार्क स्टेडियममा अमेरिकाले दिएको १८९ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्याण्ड ले २० ओभरमा ६ विकेट क्षेतीमा १६२ रन मात्र बनाउन सक्यो।

आयरल्याण्डको ब्याटिंगमा लोर्कान टकरले सर्वाधिक ५७ रन, पल स्टरलिंगले ३१ रन, सहें गेटकेटले १९ तथा कर्टिस क्याम्फरले १७ रन योगदान दिए। तेश्रो नमारमा ब्याटिंग गरेका टकर क्रिजमा अन्तिमसम्म जमेता पनि अन्य ब्याटरले उनको साथ दिन सकेनन्। अमेरिकाको बलिंगमा सौरभ नेत्रभाल्कर ( २/२६ ) , अलि खान ( २/३० ) र निसर्ग पटेल ( २/२७ ) ले समान दुई विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको अमेरिकाले खराब सुरुवातको बाबजुद २० ओभरमा ६ विकेट क्षेतीमा १८८ रन बनाएको थियो।

अमेरिकाले पहिलो ४ विकेट १६ रनमै गुमाएको थियो। पाँचौ विकेटको लागि सुशान्त मोदानी र गजानन्द सिंहले ११० रनको साझेदारी गर्दै इनिंग्स उकासे। छैठौं विकेटको लागि मोदानीले मार्टि केनसंग ३८ रन जोडे।

गजानन्दले ४२ बलमा ३ चौका र ५ छक्का मद्दतले ६५ रन तथा सुशान्तले ३९ बलमा ३ चौका र १ छक्का मद्दतले ५० रन बनाए। यस्तै केन ले १५ बलमा ३ चौका र ३ छक्का मद्दतले ३९ रन बनाए। आयरल्याण्ड बलर ब्यारी म्याकार्थीले ४ विकेट ( ४/३० ) तथा सिमि सिंह र बेन्जामिन व्हाइटले समान एक विकेट लिए।

सिरिज अन्तर्गत बिहिबार ( डिसेम्बर २३ ) मा दोश्रो खेल हुनेछ। यस पछि दुई देश बीच डिसेम्बर २६ तारिख देखि तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज खेलिनेछ।

२०७८ पुष ८, बिहीबार मा प्रकाशित