अमेरिका-आयरल्याण्ड एकदिवसीय सिरिज स्थगित

आयरल्याण्डको अमेरिका भ्रमण अन्तर्गत तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज स्थगित भएको छ।

ईएसपीएन क्रिक्इन्फोका अनुसार आयरल्याण्ड सपोर्ट स्टाफहरुमा कोभिड-१९ टेस्ट पोजेटिभ आएकाले सिरिज स्थगित गर्नु परेको हो। उक्त स्टाफहरु खेलाडीहरुसंग सम्पर्कमा भएको बताईएको छ। यस अघि पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय पनि आईसीसीको म्याच अफिसियललाई कोभिड-१९ देखिएपछि अर्को मितिमा सारिएको थियो।

“यो निर्णय लिन कठिन थियो तर खेलाडी र स्टाफहरुको स्वास्थ्य र सुरक्षाको दृस्टीले महत्वपूर्ण थियो। आइरिस खेलाडीहरुमा कोभिड नतिजा पोजेटिभ छैन तर हाम्रो दुई सपोर्ट स्टाफको टेस्ट पोजेटिभ आएको र संगै यात्रा गरेका परिवारको सदस्यहरुको पनि टेस्ट पोजेटिभ आएको छ। हाम्रो टिमका दुई खेलाडी उनीहरुको नतिजको सम्पर्कमा थिए जो हाल आइसोलेसनमा छन्। उनीहरु हाम्रो निगरानीमा छन्।” क्रिकेट आयरल्याण्डका हाई परफरमेन्स डीरेक्टरले प्रेस विज्ञप्तिमा बताएका छन्। साथै उनले अमेरिकी क्रिकेट बोर्डको प्रयासको तारिफ गर्दै फ्यानहरुको लागि पनि सिरिज स्थगित हुनु दुर्भाग्यपूर्ण रहेको उल्लेख गरेका छन्।

आयरल्याण्ड अमेरिका भ्रमण गर्ने पहिलो टेस्ट राष्ट्रको पुरुष टिम हो। दुई देश बीच खेलिएको टि-२० सिरिज १-१ को बराबरीमा टुंगिएको थियो।

आयरल्याण्डले वेस्टइन्डिजसंग सिरिज खेल्ने तालिका रहेको छ र डिसेम्बर ३१ तारिखमा वेस्टइन्डिज प्रस्थान गर्ने तालिका छ। कोभिड-१९ भएका खेलाडीहरु आइसोलेसन पछि त्यसतर्फ प्रस्थान गर्न सक्नेछन्।

२०७८ पुष १४, बुधबार मा प्रकाशित