U19 Asia Cup : भारत र श्रीलंका फाइनलमा, पाकिस्तान र बंगलादेश बाहिर

भारत र श्रीलंका युएईमा जारि अन्डर-१९ एसीया कपको फाइनल प्रवेश गरेका छन्।

बिहिबार सम्पन्न दुई वटा सेमीफाइनलमा भारतले बंगलादेशलाई तथा श्रीलंकाले पाकिस्तानलाई पराजित गरेका हुन्। श्रीलंका र भारत बीच शुक्रबार ( डिसेम्बर ३१ ) दुबई अन्तर्राष्ट्रिय स्टेडियममा फाइनल खेलिनेछ।

शारजाह क्रिकेट स्टेडियममा सम्पन्न पहिलो सेमीफाइनलमा भारत १०३ रनले विजयी भयो। भारतले दिएको २४४ रनको लक्ष्य पछ्याएको बंगलादेशले ३८.२ ओभरमा १४० रन मात्र बनाउन सक्यो। लक्ष्य पछ्याउने क्रममा बंगलादेशको लागि अरिफुल इश्लामले सर्वाधिक ४२ रन बनाए। भारतीय बलर राजवर्धन हांगरगेकर, रभी कुमार, राज वावा, विकि ओस्टवालले समान दुई विकेट लिए।

भारतको ब्याटिंगमा शैक रशिदले सर्वाधिक ९० रन, विकि ओस्टवालले अविजित २८, यश धुलले २६ तथा राज वावाले २३ रन योगदान दिए। बंगलादेश बलर रकिबुल हसनले ३ विकेट लिए।

दोश्रो सेमीफाइनलमा श्रीलंकाले पाकिस्तानलाई २२ रनले हरायो। श्रीलंकाले दिएको १४८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९.३ ओभरमा १२५ रन मात्र बनायो। श्रीलंकाको बलिंगमा ट्रभीन म्याथुले ४ तथा दुनिथ वेलालागेले ३ विकेट लिए। पाकिस्तानको लागि एहमद खानले ३६ तथा मुहम्मद शेहजादले ३० रन योगदान दिए।

यस अघि श्रीलंकाले ४४.५ ओभरमा १४७ रन बनाएको थियो। ७० रनमा ८ विकेट गुमाएको अवस्थामा श्रीलंकाको तल्लो क्रमका नवौं नम्बरका ब्याटर यासिरु रोडरिगो र दशौँ नम्बरका मथिसा पाथीरानाले समान ३१ रन बनाएका थिए। पाकिस्तान बलर जिशान जमिरले ४ तथा एहमद खान र अवेस अलिले समान दुई विकेट लिए।

२०७८ पुष १५, बिहीबार मा प्रकाशित