राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आज सुरु , २० खेलाडीले गरे रिपोर्टिंग

ओमानमा फेब्रुअरी १५ तारिख देखि सुरु हुने टि-२० विश्वकप ग्लोबल छनोटको लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको तयारी आज सुरु हुँदैछ। टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा बिहान ११ बजे देखि प्रशिक्षण सुरु हुनेछ।

क्यानले बन्द प्रशिक्षणमा सहभागी हुन ३० सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको थियो। क्यानका अनुसार हालसम्म बन्द प्रशिक्षणमा रिपोर्टिंगमा २० जना खेलाडी मात्र पुगेका छन्। यस अघि खेलाडी कारवाहीको बिरोधमा बन्द प्रशिक्षणमा नपुगेका खेलाडीहरु मध्ये बिनोद भण्डारी बिक्रम सोब, सुशन भारी र नन्दन यादवले रिपोर्टिंग गरिसकेका छन् र आज अभ्यासमा सहभागी हुँदैछन्। कप्तान सन्दिप लामिछाने हाल बिग ब्यास लिग खेल्न अस्ट्रेलियामा छन् र जनवरी अन्तिम साता नेपाल पुग्नेछन्।

ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, कमल सिंह ऐरी, सोमपाल कामि, कुशल भुर्तेल, सन्दिप जोरा, रोहित पौडेल, करन केसी, अविनाश बोहरा गरि ९ जना खेलाडीले अझ सम्म रिपोर्टिंग गरेका छैनन्।

रिपोर्टिंग गरेका २० खेलाडीहरु : शरद भेसावकर, आरिफ शेख, बिनोद भण्डारी, कुशल मल्ल, आसिफ शेख, शाहब आलम, सुशन भारि, पवन सर्राफ, बिक्रम सोब, भिम शार्की, प्रदिप ऐरी, गुल्सन झा, नन्दन यादव, जितेन्द्र मुखिया, बिबेक यादव, सौरभ खनाल, राजेश पुलामी, किशोर महतो, सागर ढकाल, हरि शंकर शाह

क्यानले आइतबार ज्ञानेन्द्र मल्लसंग वार्ता पछि कप्तान परिवर्तन र ग्रेड परिवर्तन बाहेक ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, सोमपाल कामि र कमल सिंह ऐरीलाई ६ महिना अनुबन्ध बाहिर राख्ने निर्णय फिर्ता लिने बताईसकेको छ। वार्तामा सकारात्मक देखिएता पनि हालसम्म खेलाडीको तर्फबाट अधिकारिक रुपमा त्यसमा सहमत वा नभएको बताईएको छैन। उनीहरुले खेलाडीसंग छलफल पछि निर्णय दिने बताएका थिए। तर उनीहरुको समर्थन गरिरहेका बिनोद, बिक्रम, सुशन र नन्दन अभ्यासमा फर्कनुले सहमत भएको बुझिएको छ। अन्य खेलाडी पनि सोमबार रिपोर्टिंगमा आउने विश्वास क्यानले लिएको छ।

क्यानले अनुशासन उल्लङ्घनसम्बन्धी गठन गरेको छानबिन समितिले सिफारिस गरे बमोजिम खेलाडी आचार संहिता उल्लङ्घन गरेको भन्दै क्यानले गत मङ्सिर २९ गते अनुशासनको कारण देखाउँदै ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्र सिंह ऐरीलाई उपकप्तान पदबाट पदमुक्त गरेको थियो । मल्ल र ऐरीसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा सुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको थियो । यस्तै क्यानले सन्दिप लामिछानेलाई कप्तान समेत नियुक्त गरेको थियो।

टि-२० विश्वकप छनोट प्रतियोगिताको लागि क्यानले ३० जना खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाएको थियो। कारवाहीमा परेका ज्ञानेन्द्र मल्ल सहित उनीहरुको समर्थनमा कुल १४ जना खेलाडीहरु सम्पूर्ण कारवाही फिर्ता लिनु पर्ने माग सहित बन्द प्रशिक्षणमा सहभागिता नजनाउने भन्दै क्यानलाई इमेल गरेका थिए। उनीहरुले कप्तान परिवर्तन लगायत चार खेलाडीलाई ६ महिना सेन्ट्रल कन्ट्रयाक्टमा लगाइएको प्रतिबन्ध फिर्ता हुनु पर्ने माग राखेका थिए जुन माग पुरा भए मात्र बन्द प्रशिक्षणमा सहभागी हुने बताएका थिए। क्यानले कप्तान परिवर्तन बाहेक अन्य निर्णयमा पछि हट्न तयार नभएको बताएको थियो भने खेलाडीहरु सम्पूर्ण निर्णय परिवर्तन गर्नुपर्ने पक्षमा थिए। दुवै पक्ष आफ्नो अडानमा लचिलो हुँदा विवाद सहमतिको बाटोमा पुगेको हो।

आइतबार ज्ञानेन्द्र मल्लसंग क्यानका अध्यक्ष चतुर बहादुर चन्द, प्रशिक्षक पुबुदु दासानायेके, कोषाध्यक्ष रोशन कुमार सिंह र क्यानका कार्यवाहक सचिव प्रशान्त मल्ल वार्तामा बसेको थियो। वार्तामा क्यान अध्यक्ष चतुर बहादुर चन्दले मल्ललाई बन्द प्रशिक्षणमा सहभागी हुन तथा राष्ट्रको लागि खेल्न आग्रह गर्दै क्यान कप्तानी बाहेक अनुशासनको कारवाहीको निर्णय फिर्ता गर्न तयार रहेको बताएका थिए। प्रशिक्षक पुबुदुले समेत मल्ललाई सोहि अनुरोध गर्दै अभ्यासमा सहभागी हुन आग्रह गरेका थिए।

घोषित ३० सदस्यीय प्रारम्भिक टिम : सन्दिप लामिछाने ( कप्तान ), ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, शरद भेसावकर, करन केसी, सोमपाल कामि, आरिफ शेख, बिनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, आसिफ शेख, कमल सिंह ऐरी, शाहब आलम, सन्दिप जोरा, अविनाश बोहरा, सुशन भारि, पवन सर्राफ, बिक्रम सोब, भिम शार्की, रोहित पौडेल, प्रदिप ऐरी, गुल्सन झा, नन्दन यादव, जितेन्द्र मुखिया, बिबेक यादव, सौरभ खनाल, राजेश पुलामी, किशोर महतो, सागर ढकाल, हरि शंकर शाह

२०७८ पुष १९, सोमबार मा प्रकाशित