नेपाल क्रिकेट संघले अनुशासनको कारवाही स्वरूप ६ महिनाको अनुबन्धमा नराख्ने कारवाही फिर्ता लिएपछि ज्ञानेन्द्र मल्ल सहित सोमपाल कामि, कमल सिंह ऐरी र दिपेन्द्र ऐरीले टि-२० विश्वकप छनोटको लागि बन्द प्रशिक्षणमा सहभागी हुन रिपोर्टिंग गरेका छन्।
हाल अस्ट्रेलियामा बिग ब्यास लिग खेलीरहेका कप्तान सन्दिप लामिछाने बाहेक बन्द प्रशिक्षणमा रहेका अन्य २९ जना खेलाडी होटल पुगेर रिपोर्टिंग गरेका छन्। सम्पूर्ण खेलाडीहरु अब मंगलबार देखि बन्द प्रशिक्षणमा सहभागी हुनेछन्।
कारवाहीमा परेका खेलाडीहरुले सन्दिपलाई कप्तान बनाइएको निर्णय सहित सम्पूर्ण कारवाही फिर्ता लिन माग गरेता पनि क्यान कप्तानमा सन्दिपनै रहने निर्णयमा अडिग रहेको थियो। मल्ल सहित क्यान अध्यक्ष चतुर बहादुर चन्द, प्रशिक्षक पुबुदु दासानायेकेले वार्ता गरेपछि दुवै पक्षले लचकता अपनाएका थिए। सहमति पछि मल्ल लगायत खेलाडीहरु बन्दप्रशिक्षणमा सहभागी भएका हुन्।
नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षण सोमबार सुरु भएको छ। प्रशिक्षक पुबुदु दासानायेकेले पहिलो दिन उपस्थित १४ जना खेलाडीहरुलाई फिटनेस अभ्यास गराएका थिए। युवा देब्रे हाते स्पिनर सागर ढकाल बिरामी भएका कारण अभ्यासमा पुग्न सकेनन्। दोश्रो दिन मंगलबार अन्य अभ्यास सुरु हुनेछ।
क्यानले अनुशासन उल्लङ्घनसम्बन्धी गठन गरेको छानबिन समितिले सिफारिस गरे बमोजिम खेलाडी आचार संहिता उल्लङ्घन गरेको भन्दै क्यानले गत मङ्सिर २९ गते अनुशासनको कारण देखाउँदै ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्र सिंह ऐरीलाई उपकप्तान पदबाट पदमुक्त गरेको थियो । मल्ल र ऐरीसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा सुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको थियो । यस्तै क्यानले सन्दिप लामिछानेलाई कप्तान समेत नियुक्त गरेको थियो।
३० सदस्यीय प्रारम्भिक टिम : सन्दिप लामिछाने ( कप्तान ), ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, शरद भेसावकर, करन केसी, सोमपाल कामि, आरिफ शेख, बिनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, आसिफ शेख, कमल सिंह ऐरी, शाहब आलम, सन्दिप जोरा, अविनाश बोहरा, सुशन भारि, पवन सर्राफ, बिक्रम सोब, भिम शार्की, रोहित पौडेल, प्रदिप ऐरी, गुल्सन झा, नन्दन यादव, जितेन्द्र मुखिया, बिबेक यादव, सौरभ खनाल, राजेश पुलामी, किशोर महतो, सागर ढकाल, हरि शंकर शाह