शार्दुलले बनाए नयाँ रेकर्ड, दक्षिण अफ्रीकालाई सामान्य अग्रता

दायाँ हात पेसर शार्दुल ठाकुरले घातक बलिंग गर्दै नयाँ कीर्तिमान कायम गर्दा दक्षिण अफ्रीका पहिलो इनिंग्समा २२९ रनमा सिमित हुँदा जोहनेस्बर्गमा जारि दोश्रो टेस्टको पहिलो इनिंग्समा दक्षिण अफ्रीकाले सामान्य अग्रता हाँसिल गरेको छ।

भारतले पहिलो इनिंग्समा २०२ रन बनाएको थियो जसपछि घरेलु टोलिले ७९.४ ओभरमा २२९ रन बनाउदै २७ रनको अग्रता हाँसिल गरेको हो।

दक्षिण अफ्रीकाको लागि किगान पिटरसनले सर्वाधिक ६२, तेम्बा बभुमाले ५१, कप्तान डीन एल्गरले २८ तथा कायल भेरीएन, मारको जेन्सन र केशव महाराजले समान २१ रन योगदान दिए। १६२ रनमा ४ विकेट गुमाएको अवस्थामा ठाकुरले घातक बलिंग गरेपछि दक्षिण अफ्रीकाले थप ६७ रन बनाउदा सम्पूर्ण विकेट गुमाउन पुग्यो। दोश्रो विकेटको लागि एल्गर र पिटरसन बीचको ७४ रनको तथा पाँचौ विकेटको लागि बबुमा र भेरीएन बीच ६० रनको साझेदारी भयो। दुवै साझेदारी ठाकुरले तोडे।

करियरकै उत्कृस्ट बलिंग स्पेल तथा दक्षिण अफ्रीका बिरुद्ध भारतको इतिहासकै उत्कृस्ट स्पेल दर्ता गरेका शार्दुल ठाकुरले ७ विकेट लिए जुन क्रममा १७.५ ओभरमा ३ मेडन ओभर गर्दै ६१ रन खर्चिए। मोहम्मद शामीले २ तथा जस्प्रित बुम्राहले १ विकेट लिए।

यस अघि दक्षिण अफ्रीका बिरुद्ध भारतीय बलरको उत्कृस्ट स्पेल रभीचन्द्रन आश्विनको नाममा थियो जसले २०१५/१६ मा नागपुरमा ६१ रन खर्चेर ७ विकेट लिएका थिए। दक्षिण अफ्रीकामा भारतीय बलरको यस अघि उत्कृस्ट स्पेल हरभजन सिंहको नाममा थियो जसले २०१०/११ मा केपटाउनमा १२० रन खर्चेर ७ विकेट लिएका थिए। शार्दुल र सिंह बाहेक दक्षिण अफ्रीकामा भारतीय बलरले ७ विकेट लिन सकेका छैनन्।

२०७८ पुष २०, मंगलवार मा प्रकाशित