बैतडी : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम छनौटको उपाधि कञ्चनपुरले जितेको छ। फाइनल खेलमा कञ्चनपुरले बैतडीलाई ३८ रनले हराएर उपाधि हात पारेको हो।
कञ्चनपुरले दिएको १९६ रनको लक्ष्य बैतडीको पारी १५७ रनमा समेटियो। बैतडीका लागि गजेन्द्र बोहराले सर्वाधिक २६ रन बनाए। बलिङतर्फ कञ्चनपुरका आदित्य महताले तीन तथा अर्जुन साउद र प्रकाश विष्टले दुई दुई विकेट लिए। त्यसअघि पहिला ब्याटिङ गरेको कञ्चनपुरले निर्धारित ४० ओभरमा आठ विकेट गुमाउँदै १९५ रन जोड्यो।
उसका लागि अनुराग सिंहले ४७ र हेमन्त धामीले ४२ रन बनाए। बलिङतर्फ बैतडीका लागि जगदीश चन्दले तीन विकेट लिए। कञ्चनपुरका आदित्य महतालाई खेलको म्यान अफ दी म्याच घोषित गरिएको सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक खेमराज भट्टले जानकारी दिए।
यही पुस १४ गतेदेखि सुरु भएको प्रदेशस्तरीय छनौट प्रतियोगितामा आठ जिल्लाका टोली सहभागी थिए। सहभागीमध्ये उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई छनौट गरी सुदूरपश्चिमको टोली बनाइनेछ। उक्त टोलीले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ। नेपाल क्रिकेट सङ्घको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २५ गतेदेखि काठमाडौँमा हुँदैछ।