अस्ट्रेलियामा जारि एशेज सिरिज अन्तर्गत चौंथो टेस्टमा टस जितेर ब्याटिंग गरेको अस्ट्रेलियाले पहिलो इनिंग्समा ४१६ रनमा ८ विकेट गुमाएको अवस्थामा इनिंग्स समाप्तिको घोषणा गरेको छ।
पहिलो दिनको समाप्तिमा १२६/३ को अवस्थाबाट दोश्रो दिन ब्याटिंग सुरु गरेको घरेलु टोलिले दोश्रो दिनको अन्तिम सेसनमा इनिंग्स समाप्ति गरेको हो। इंग्ल्यान्डले पहिलो इनिंग्स सुरु गरिसकेको छ र दिनको समाप्तिमा विकेट नगुमाई १३ रन बनाएको छ। ज्याक क्रले र हसिब हमिद समान २ रन बनाएर क्रिजमा छन्। पहिलो इनिंग्समा इंग्ल्यान्ड ४०३ रनले पछि छ।
अस्ट्रेलियाको ब्याटिंगमा उस्मान ख्वाजाले नवौं टेस्ट शतक बनाउने क्रममा सर्वाधिक १३७ रन बनाए जुन क्रममा उनले २६० बलमा १३ चौका प्रहार गरे। स्टिभ स्मिथले ६७, मार्कस ह्यारिसले ३८, मिचेल स्टार्कले अविजित ३४,डेभिड वार्नरले ३० तथा मार्नस ल्याबूसेनले २८ रन योगदान दिए। ख्वाजा र स्टार्कले आठौँ विकेटको लागि ६७ रनको साझेदारी गरे। ख्वाजालाई ब्रोडले बोल्ड गर्दै साझेदारी तोडे।
इंग्ल्यान्ड बलर स्टुवार्ट ब्रोडले ५ विकेट ( २९-५-१०१-५ ) लिए भने जेम्स एण्डरसन, मार्क वुड र जो रुटले समान एक विकेट लिए।
५ टेस्टको सिरिज अस्ट्रेलियाले ३-० ले जितेसकेको छ। अस्ट्रेलियाले पहिलो टेस्ट ९ विकेटले, दोश्रो टेस्ट २७५ रनले तथा तेश्रो टेस्ट इनिंग्स र १४ रनले जितेको थियो।