कप्तान एल्गरको शानदार पारि, दक्षिण अफ्रीकाद्वारा भारत पराजित

दोश्रो टेस्टमा भारतलाई ७ विकेटले पराजित गर्दै घरेलु टोलि दक्षिण अफ्रीकाले तिन टेस्टको सिरिज १-१ को बराबरी गरेको छ।

भारतले दिएको २४० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीकाले ६७.४ ओभरमा ३ विकेट गुमाएर भेटायो। वान्डरर्स स्टेडियम, जोहनेसबर्गमा दक्षिण अफ्रीकाले भारतलाई पराजित गर्यो यो नै इतिहासमा पहिलो पटक हो। दक्षिण अफ्रीकाले घरेलु भूमिमा इतिहासकै तेश्रो ठूलो लक्ष्य पछ्याएको हो। यस अघि उसले २००१ मा अस्ट्रेलियाले दिएको ३३५ रनको तथा १९०५ मा इंग्ल्यान्डले दिएको २८४ रनकको लक्ष्य पछ्याएको थियो।

दक्षिण अफ्रीकाले ११८/२ को स्थितिबाट दिनको सुरुवात गरेको गरेको थियो। तेश्रो विकेटको लागि कप्तान एल्गरले रसि भान डर डुसेनसंग ८२ रनको साझेदारी गरे। डुसेनलाई मोहम्मद शामीले क्याच आउट गर्दै साझेदारी तोडे। जितको लागि दक्षिण अफ्रीकालाई त्यति बेला ६० रनको आवस्यकता थियो। त्यसपछि पनि एल्गरले तेम्बा बभुमासंग चौंथो विकेटको लागि ६८ रनको साझेदारी गर्दै जितसम्म पुर्याए।

शानदार ब्याटिंग गरेका डीन एल्गरले अविजित ९६ रन बनाए जुन क्रममा १८८ बलमा १० चौका प्रहार गरे। तेम्बा बभुमाले अविजित २३ रन बनाए। रसि भान डर डुसेनले ४०, एडेन मारक्रमले ३१ तथा किगान पिटरसनले २८ रन बनाए। भारतको बलिंगमा मोहम्मद शामी, शार्दुल ठाकुर र रभीचन्द्रन आश्विनले समान एक विकेट लिए।

टेस्टको हिलो इनिंग्समा भारतले २०२ रन बनाएको थियो भने दक्षिण अफ्रीकाले पहिलो इनिंग्समा २२९ रन बनाएको थियो। भारतले दोश्रो इनिंग्समा २६६ रन बनाउदै दक्षिण अफ्रीकालाई २४० रनको लक्ष्य प्रस्तुत गरेको थियो।

सिरिज अन्तर्गत पहिलो टेस्ट भारतले ११३ रनले जितेको थियो। निर्णायक टेस्ट जनवरी ११ तारिखमा सुरु हुनेछ। त्यसपछि दुई देश बीच जनवरी १९ तारिख देखि तिन वटा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज सुरु हुनेछ।

२०७८ पुष २२, बिहीबार मा प्रकाशित