जोनी बेयरस्टोले शतक बनाएता पनि अस्ट्रेलिया बिरुद्ध एशेज सिरिजको चौंथो टेस्टको तेश्रो दिन समाप्त हुँदा इंग्ल्यान्डको संघर्ष जारि छ।
पहिलो इनिंग्समा अस्ट्रेलियाले ४१६ रन बनाएपछि ब्याटिंग गरेको इंग्ल्यान्डले तेश्रो दिन समाप्तिमा आफ्नो पहिलो इनिंग्समा ७ विकेट क्षेतीमा २५८ रन बनाएको छ। इंग्ल्यान्ड अझै १५८ रनले पछि रहेको छ।
दिनको समाप्तिमा क्रिजमा जोनी बेयरस्टो अविजित १०३ रन तथा ज्याक लिच ४ रनमा अविजित छन्। करियरको छैठौं शतक बनाएका बेयरस्टोले १४० बलमा ८ चौका र ३ छक्का प्रहार गरेका छन्। यस अघि बेन स्टोक्स ६६, मार्क वुड ३९ तथा ज्याक क्रलेले १८ रन बनाएर आउट भए।
३६ रनमा ४ विकेट गुमाएको अवस्थामा छैठौं नम्बरमा ब्याटिंग गरेका बेयरस्टोले पाँचौ विकेटको लागि बेन स्टोक्ससंग १२८ रनको साझेदारी गरे। स्टोक्सलाई नाथन लायनले एबिडब्लु पारे। जोस बटलर खाता नखोली आउट भएपछि सातौँ विकेटको लागि बेयरस्टोले मार्क वुडसंग ७२ रन जोडे। वुडलाई प्याट कमिन्सले क्याच आउट गराए।
अस्ट्रेलियाको बलिंगमा प्याट कमिन्स र स्कट बोल्यान्डले समान २ विकेट तथा मिचेल स्टार्क, क्यामरन ग्रिन र नाथन लायनले समान एक विकेट लिएका छन्।
अस्ट्रेलियाले पहिलो इनिंग्स ४१६/८ को अवस्थामा समाप्तिको घोषणा गरेको थियो। उसको लागि उस्मान ख्वाजाले १३७ रन योगदान दिएका थिए। इंग्ल्यान्ड बलर स्टुवार्ट ब्रोडले ५ विकेट लिए।
५ टेस्टको सिरिज अस्ट्रेलियाले ३-० ले जितेसकेको छ। अस्ट्रेलियाले पहिलो टेस्ट ९ विकेटले, दोश्रो टेस्ट २७५ रनले तथा तेश्रो टेस्ट इनिंग्स र १४ रनले जितेको थियो।