एशेज : ख्वाजाको अर्को शतक, अस्ट्रेलिया बलियो

उस्मान ख्वाजाले लगातार शतक बनाउदा एशेज सिरिज अन्तर्गत चौंथो टेस्टको चौंथो दिन समाप्तिमा अस्ट्रेलिया बलियो स्थानमा छ।

चौंथो दिनको समाप्तिमा अस्ट्रेलियाले दिएको ३८८ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले विकेट नगुमाई ३० रन बनाएको छ। इंग्ल्यान्डलाई जितको लागि अझै ३५८ रन बनाउन बाँकी छ। क्रिजमा हसिब हमिद ८ तथा ज्याक क्रलेले २२ रन बनाएर अविजित छन्।

यस अघि अस्ट्रेलियाले दोश्रो इनिंग्समा २६५/६ को योगफलमा इनिंग्स समाप्तिको घोषणा गरेको थियो। उसको लागि पहिलो इनिंग्समा पनि शतक बनाएका उस्मान ख्वाजाले अर्को शतक बनाउने क्रममा अविजित १०१ रन बनाए जुन क्रममा १३८ बलमा १० चौका र २ छक्का प्रहार गरे। क्यामरन ग्रिनले ७४, मार्नस लाबूसेनले २९, मार्कस ह्यारीसले २७ तथा स्टिभ स्मिथले २३ रन बनाए। पाँचौ विकेटको लागि ख्वाजा र ग्रिनले १७९ रनको साझेदारी गरे। इंग्ल्यान्ड बलर ज्याक लिचले ४ तथा मार्क वुडले २ विकेट लिए।

अस्ट्रेलियाले पहिलो इनिंग्समा ४१६/८ तथा इंग्ल्यान्डले पहिलो इनिंग्समा २९४ रन बनाएको थियो।

५ टेस्टको सिरिज अस्ट्रेलियाले ३-० ले जितेसकेको छ। अस्ट्रेलियाले पहिलो टेस्ट ९ विकेटले, दोश्रो टेस्ट २७५ रनले तथा तेश्रो टेस्ट इनिंग्स र १४ रनले जितेको थियो।

२०७८ पुष २४, शनिबार मा प्रकाशित