वेस्टइन्डिजद्वारा आयरल्याण्ड २४ रनले पराजित

पहिलो खेलमा भ्रमण टोलि आयरल्याण्डलाई २४ रनले पराजित गर्दै वेस्टइन्डिजले तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रियको सिरिजमा १-० को अग्रता पाएको छ।

जमैका स्थित सबिना पार्क स्टेडियममा सम्पन्न खेलमा वेस्टइन्डिजले दिएको २७० रन लक्ष्य पछ्याउने क्रममा आयरल्याण्डले ४९.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर २४५ रन मात्र बनाउन सक्यो।

एक समय १६५ रन बनाउदा आयरल्याण्डले एक विकेट मात्र गुमाएको थियो। त्यस बीचमा ३४ रन बनाएर एन्डी म्याकब्रायन ६१ रनको साझेदारी गरेपछि रिटायर्ड हर्ट हुँदै मैदान बाहिरिए। तर ७१ रन बनाएका कप्तान एन्ड्रयु बालबर्नीलाई ३७ औं ओभरमा रोमारियो शेफर्डले क्याच आउट पारेपछि वेस्टइन्डिज खेलमा फर्कियो। म्याकब्रायन र ह्यारी टेक्टरले १०३ रनको साझेदारी गरे। लगत्तै ओभरमा ५३ रन बनाएका टेक्टरलाई ओडेन स्मिथले क्याच आउट पारे। शेफर्डले लगत्तै ओभरमा विकेटकिपर ब्याट्सम्यान लोर्कान टकरलाई बोल्ड गरे। फलस्वरुप १६५/१ बाट आयरल्याण्ड १८६/५ को अवस्थामा पुग्यो जसपछि वेस्टइन्डिज खेलमा हावी भयो। जर्ज डकरेलले ३० तथा मार्क अडेरले अविजित २१ रन बनाएता पनि जित्न पर्याप्त रहेन।

वेस्टइन्डिज बलर रोमारियो शेफर्ड ( ३/५० ) र अल्जारी जोसेफ ( ३/५५ ) ले समान तिन विकेट , ओडेन स्मिथले २ विकेट ( २/२६ ) तथा जेसन होल्डर ( १/४८ ) र अकेल होसेनले ( १/३५ ) समान एक विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको वेस्टइन्डिजले ४८.५ ओभरमा सबै विकेट गुमाएर २६९ रन बनाएको थियो।

वेस्टइन्डिजको लागि शम्राह ब्रुक्सले सर्वाधिक ९३ रन बनाए जुन क्रममा ८९ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। कप्तान काईरन पोलार्डले ६६ बलमा ४ चौका र ४ छक्का मद्दतले ६९ रन बनाए। शाई होपले २९, ओडेन स्मिथले १८ तथा निकोलस पुरन र जेसन होल्डरले समान १३ रन बनाए।

६२ रनमा ४ विकेट गुमाएको अवस्थामा ब्रुक्स र पोलार्डले १५५ रनको साझेदारी गर्दै इनिंग्स उकासे। अ४२ औं ओभरमा पोलार्डलाई क्रेग योंगले क्याच आउट पारे। पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाउन ७ रनले चुकेका ब्रुक्स ४४ औं ओभरमा मार्क अडेरबाट एलबिडब्लु भए।

आयरल्याण्डको बलिंगमा मार्क अडेर ( ३/३८ ) र क्रेग योंग ( ३/५६ ) ले समान तिन विकेट , एन्डी म्याकब्रायनले २ ( /५२ ) तथा जोशुवा लिटल ( १/४६ ) र कर्टिस क्यामफरले ( १/४७ ) समान एक विकेट लिए।

सिरिज अन्तर्गत दोश्रो खेल जनवरी ११ तारिख तथा तेश्रो खेल जनवरी १४ तारिखमा खेलिनेछ। त्यसपछि दुई देशले जनवरी १६ तारिखमा एक मात्र टि-२० अन्तर्राष्ट्रिय खेल्ने तालिका छ।

२०७८ पुष २५, आईतवार मा प्रकाशित