प्रधानमन्त्री कप : आरिफको घातक बलिंग, पुलिसको रोमान्चक जित

सोमबार सुरु भएको प्रधानमन्त्री कप टि-२० प्रतियोगिता अन्तर्गत विजयी सुरुवात गर्ने क्रममा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई २ रनले पराजित गरेको छ।

मुलपानी मैदानमा सम्पन्न खेलमा पुलिसले दिएको ९४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले पुरै २० ओभर ब्याटिंग गरेता पनि ९ विकेट क्षेतीमा ९१ रन मात्र बनाउन सक्यो।

अन्तिम २ ओभरमा सुदूरपश्चिमलाई जित्न ९ रन आवस्यक हुँदा उन्नाईसौं ओभरमा आरिफ शेखले मात्र ३ रन खर्चेर ६ रन बनाएका आदित्य महतालाई बोल्ड गरे। त्यसपछि अन्तिम ओभरमा ६ रन आवस्यक हुँदा करन केसीले मात्र ३ रन खर्चिएर पुलिसलाई रोमान्चक जित दिलाए।

सुदूरपश्चिमले ४८ रन बनाउदा मात्र एक विकेट गुमाएको थियो। एघारौं ओभरमा सन्तोष भट्टलाई पवन सर्राफले बोल्ड गरे भने अर्जुन साउदलाई कुशल भुर्तेलले रन आउट गरे। त्यसपछि आरिफ शेखले सुदूरपश्चिमको मध्यक्रम ध्वस्त पारे। नारायण जोशीले आक्रामक ब्याटिंग गरेता पनि अन्य ब्याट्सम्यान क्रिजमा जम्न सकेनन्। नारायणलाई अठारौं ओभरमा करन केसीले क्याच आउट पारे।

सुदूरपश्चिमको ब्याटिंगमा गजेन्द्र बोहराले २७, नारायण जोशीले २२ तथा खडक बोहराले १३ रन बनाए। पुलिसको बलिंगमा प्लेयर अफ द म्याच समेत चुनिएका आरिफ शेखले ४ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र ९ रन खर्चिए। करन केसी, दिपेन्द्र ऐरी र पवन सर्राफले समान एक विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको नेपाल पुलिस क्लबले २० ओभरमा ८ विकेट क्षेतीमा ९३ रन बनाएको थियो।

पुलिसको ब्याटिंगमा ओपनरद्वय कुशल भुर्तेलले २१ तथा पवन सर्राफले २० रन बनाए। आरिफ शेखले १० रन बनाउदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। दिपेन्द्र ऐरी ७, अनिल शाह ५, करन केसी २ तथा मन्जित श्रेष्ठ ५ रन बनाएर आउट भए भने योगेन्द्र सिंह कार्की ९ रनमा अविजित रहे। पवन र कुशलले ३८ रनको ओपनिंग साझेदारी गरेका थिए।

सुदूरपश्चिमको बलिंगमा नारायण जोशी ( ४-०-१८-३ ) र आदित्य महताले ( ३-०-९-३ ) समान तिन विकेट तथा शेर मल्लले दुई विकेट ( ४-०-२५-२ ) लिए।

२०७८ पुष २६, सोमबार मा प्रकाशित