जितेन्द्र मुखियाले घातक बलिंग गर्दा प्रधानमन्त्री कप टि-२० प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गर्यो।
टियु मैदान कीर्तिपुरमा सम्पन्न खेलमा आर्मीले दिएको ११७ रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली प्रदेशले १४.४ ओभरमा ५३ रन मात्र बनाउन सक्यो। कर्णालीको लागि अर्जुन घर्तिले १६ तथा रबिन्द्र शाहीले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। लक्ष्य पछ्याउने क्रममा खराब सुरुवात गरेको कर्णालीले पहिलो ५ विकेट १९ रनमै गुमाएको थियो जसपछि कर्णाली खेलमा फर्कन सकेन।
आर्मीको बलिंगमा जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट ( ४-०-१५-४ ) लिए। सुशन भारि र शाहब आलमले समान दुई विकेट तथा सोमपाल कामि र बिक्रम सोबले समान एक विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको आर्मीले १९.१ ओभरमा ११६ रन बनाएको थियो। उसको लागि बिनोद भण्डारीले सर्वाधिक २९, हरि चौहानले २० तथा रोहित पौडेल र कुशल मल्लले समान १० रन बनाए। कर्णालीको बलिंगमा प्रकाश जैसीले ३ विकेट , अनुज चनाराले २ विकेट तथा दिनेश अधिकारी, रबिन्द्र शाही र राज शाहले समान एक विकेट लिए।