स्टार भारतीय अलराउण्डर हार्दिक पान्ड्या इन्डियन प्रिमियर लिग ( आईपीएल ) को नयाँ टिम अहदावादको कप्तान हुने सम्भावना प्रवल रहेको भारतीय मिडियाहरुले दावी गरेका छन्।
मुम्बई इन्डीएन्सका पूर्व अलराउण्डर पान्ड्या पछिल्लो ७ वर्ष मुम्बईको महत्वपूर्ण सदस्य थिए। तर उनलाई पांच पटक आईपीएल च्याम्पियन बनेको मुम्बईले यो सिजन ( आईपीएल २०२२ ) रिटेन नगर्ने निर्णय गरेको थियो।
मुम्बई इन्डीएन्सले तिन भारतीय खेलाडी कप्तान रोहित शर्मा सहित जस्प्रित बुम्राह र सुर्यकुमार यादव तथा वेस्टइन्डिज स्टार काईरन पोलार्डलाई रिटेन गरेको थियो। पान्ड्या सहित इशान किशन, क्रुनाल पान्ड्या, ट्रेन्ट बोल्ट जस्ता खेलाडीलाई मुम्बईले रिलिज गरेको थियो।
हार्दिक अब अहमदावाद फ़्रेन्चाइजको कप्तान बन्ने संघारमा छन् जो कप्तान बने पहिलो पटक आईपीएल टिमको नेतृत्वमा हुनेछन्। यस्तै स्टार अफगानिस्तान लेग स्पिनर रासिद खान तथा युवा विकेटकिपर ब्याट्सम्यान इशान किशनलाई पनि अहमदावादले टिममा अनुबन्ध गर्न सोचीरहेको छ।
अहदावादले टिमको प्रशिक्षकको रुपमा पूर्व भारतीय पेसर आशिष नेहरालाई नियुक्त गर्ने सम्भावना प्रवल रहेको बुझिएको छ। नेहराले यस अघि रोयल च्यालेन्जर्स बैंगलोरको सहायक प्रशिक्षकको रुपमा काम गरिसकेका छन्। रिपोर्टका अनुसार अहदावादले बिक्रम सोलंकीलाई टिमको निर्देशकमा ग्यारी कर्स्टनलाई सल्लाहकारमा नियुक्त गर्न सक्नेछ।
अहमदावाद फ़्रेन्चाइजलाई सीभीसी क्यापिटलले ५ हजार ६ सय २५ करोड भारुमा किनेको थियो। यस्तै यो पटक आईपीएलमा लखनउ पनि नयाँ टिमको रुपमा जोडिएको छ जसले ७ हजार ९० करोड भारुमा टिम खरिद गरेको थियो।