अविनाश बोहरा र लोकेश बमले उत्कृस्ट प्रदर्शन गर्दा बागमती प्रदेशलाई पराजित गर्दै एपीएफ क्लबले प्रधानमन्त्री कप टि-२० राष्ट्रिय प्रतियोगितामा दोश्रो जित दर्ता गरेको छ। पहिलो खेलमा एपीएफले प्रदेश-२ लाई पराजित गरेको थियो।
टियु अन्तर्राष्ट्रिय मैदानमा सम्पन्न खेलमा बागमतीले दिएको १२६ रनको लक्ष्य एपीएफले ३ विकेट क्षेतीमा १८.४ ओभर मा भेटायो।
एपीएफको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका लोकेश बमले सर्वाधिक ५० रन बनाए जुन क्रममा विस्फोटक ब्याटिंग गरेका उनले २४ बलमा १० चौका र १ छक्का प्रहार गरे। लोकेशले रामनरेश गिरिले गरेको इनिंग्सको चौंथो ओभरमा ५ चौका र १ छक्का ( ४ ४ ४ ६ ४ ४ ) प्रहार गरेका थिए।
आसिफ शेख १२ रन बनाएर आउट भएपछि लोकेश र प्रदिप ऐरीले दोश्रो विकेटको लागि ५८ रन जोडे। लोकेश आठौँ ओभरमा आउट भएपछि प्रदिपले अन्तिमसम्म ब्याटिंग गरे। सुमित महर्जन ७ रन बनाएर आउट भए जसपछि प्रदिप र सन्दिप जोराले ३६ रनको साझेदारी गरे। प्रदिपले अविजित ३६ तथा सन्दिपले अविजित १५ रन बनाए।
बागमतीको बलिंगमा रामनरेश गिरि, रिजन ढकाल र प्रतिश जिसीले समान एक विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग गरेको बागमतीले २० ओभरमा ८ विकेट क्षेतीमा १२५ रन बनाएको थियो।
बागमतीको लागि इशान पाण्डेए सर्वाधिक २९, नन्दन यादवले २४, सुबास खकुरेलले २१ तथा आदील खानले १९ रन बनाए। एक समय ८६ रनमा ३ विकेट गुमाएको बागमतीले त्यसपछि लगातार विकेट गुमाउन पुगेको थियो। अविनाश बोहराले बागमतीको तल्लोक्रम ब्याटिंग तहसनहस पारे।
एपीएफ बलर अविनाश बोहराले सर्वाधिक ४ विकेट ( ४-०-३२-४ ) लिए भने कमल सिंह ऐरीले २ तथा किशोर महतो र शरद भेसावकरले समान एक विकेट लिए।