BBL : एडीलेडको जितमा राशिदको कीर्तिमानी बलिंग

अस्ट्रेलियामा जारि बिग ब्यास लिगमा अफगानी लेग स्पिनर राशिद खानले करियरको तिन सयौं टि-ट्वान्टी खेल्ने क्रममा कीर्तिमानी बलिंग गरेका छन्।

लिगको ४६ औं खेलमा एडिलेड स्ट्राइकर्सले ब्रिसबेन हिट्सलाई ७१ रनले पराजित गर्यो जुन क्रममा एडिलेडले दिएको १६२ रनको लक्ष्य पछ्याएको ब्रिसबेनले १५ ओभरमा सबै विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो।

ब्रिसबेनलाई सानो योगफलमा समेट्न एडिलेड स्पिनर राशिद एक्लैले ६ विकेट लिए जुन क्रममा ४ ओभरमा १७ रन मात्र खर्चिए। राशिदले नवौं ओभरको दोश्रो र तेश्रो बलमा, तेह्रौं ओभरको तेश्रो बलमा तथा पन्ध्रौँ ओभरको दोश्रो, तेश्रो र छैठौं बलमा विकेट लिंदै ब्रिसबेनको ब्याटिंग तहसनहस पारे। फलस्वरुप एक समय ६२ रनमा २ विकेट गुमाएको ब्रिसबेनले थप २८ रन जोड्दा ८ विकेट गुमाउन पुग्यो।

राशिदको स्पेल बिग ब्यास लिग इतिहासमै स्पिन बलरको दोश्रो सबैभन्दा उत्कृस्ट स्पेल हो भने समग्रमा तेश्रो उत्कृस्ट स्पेल हो। लिग इतिहासमा राशिद बाहेक अन्य दुई बलर लासिथ मलिंगाले सन् २०१२ मा ६ विकेट ( ४-१-७-६ ) तथा इश सोढीले सन् २०१७ मा ६ विकेट ( ३.३-०-११-६ ) लिएका थिए। यी तिन बलर बाहेक अन्यले लिग इतिहासमा ६ विकेट लिन सकेका छैनन्।

खेलमा टस जितेर ब्याटिंग रोजेको एडीलेडले २० ओभरमा ४ विकेट क्षेतीमा १६१ रन बनाएको थियो। उसको लागि जेक वेदराल्डले सर्वाधिक ३५, ड्यार्सी सर्टले २७, हेनरी हन्टले २५, थोमस केलीले २४ तथा जोनाथन वेल्सले अविजित २३ रन योगदान दिए। ब्याटिंगमा पनि राशिदले १३ रन बनाएका थिए।

एकै खेलमा ६ विकेट लिएपछि बिग ब्यास लिगको यो सिजन राशिद सर्वाधिक विकेटकर्ता समेत बनेका छन्। ११ खेलमा उनले २० विकेट लिएका छन्। नेपाली लेग स्पिनर सन्दिप लामिछानेले ११ खेलमा १० विकेट लिएका छन्।

२०७८ पुष २८, बुधबार मा प्रकाशित