नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको वरियतामा जुनियरतर्फ शिर्षस्थानमा पुग्दै इतिहास रचेका छन्। विश्व ब्याडमिन्टन इतिहासमै नेपाली खेलाडी कुनै पनि वरियताको शिर्ष स्थानमा पुगेको यो पहिलो पटक हो।
मंगलबार ब्याडमिन्टन वर्ल्ड फेडेरेसनले सार्वजनिक गरेको विश्ववरियतामा दाहाल शिर्षमा छन्। तेश्रो नम्बरमा रहेका प्रिन्स दुई स्थान माथि उक्लेका हुन्। वरियतामा मलेसियाका जस्टिन हो दोश्रो तथा मलेसियाकै फज्रिक मोहमद तेश्रो, फ्रान्सका एलेक्स लेनियर चौंथो तथा भारतका संकर मुथुसामी पाँचौ नम्बरमा छन्।
प्रिन्स जुनियर तर्फ मेन्स डबल्स वरियतामा नवौं तथा मिक्स डबल्सतर्फ एघारौं स्थानमा छन्।
दाहाल गत वर्ष जनवरीमा सार्वजनिक गरिएको वरियतामा तेश्रो स्थानमा थिए भने त्यस अघि २०२० डिसेम्बरको वरियताम एघारौं स्थानमा थिए। त्यस अघि २०२० नोभेम्बरमा पनि नि एघारौं स्थानमा थिए। सन् २०२० को अधिकांश समय उनि सातौँ स्थानमा थिए। सन् २०१९ मा उनि एक सय चौधौं वरियतामा थिए।
ऐतिहासिक वरियताक्रम हाँसिल गरेपछि प्रिन्सले प्रतिक्रिया दिंदै सपना पुरा भएको र अब सिनियरतर्फ नम्बर एक बन्ने लक्ष्य राखेको बताएका छन् – “नम्बर एक बन्ने मेरो ठुलो सपना थियो । त्यो आज पूरा भएको छ । एकदम खुसी लागेको छ। जुनियरतर्फ नम्बर एक हुने सपना पूरा भयो । अब सिनियरतर्फ पनि नम्बर बन्नका लागि म अझ मिहिनेत गर्नेछु । अब मेरो ध्यान सिनियरतर्फ पनि नम्बर एक हुनेमा केन्द्रित हुनेछ।” उनले बाह्रखरीसंग कुराकानीमा बताएका हुन्।
प्रिन्सले गत अक्टोबरमा भारतको बैंगलोरमा सम्पन्न इन्फोसिस फाउन्डेसन इन्डिया इन्टरनेसनल च्यालेन्ज–२०२१ प्रतियोगिता खेलेका थिए । त्यसमा प्रिन्सले अन्तिम–६४ मा भारतका यश योगीलाई २१–१५, ११–२१, २१–१६ को स्कोरमा हराएका थिए । अन्तिम–३२ मा भने प्रिन्स भारतकै एश शंकर मुथुसमी सुब्रमनिनसँग २१–११, २१–१९ को स्कोरमा पराजित भएका थिए । पुरुष युगलतर्फ पनि प्रिन्स र प्रफुल महर्जनको जोडी अन्तिम–३२मा भारतको अरूण कार्थिक के र इशवार सुकुमारको जोडीसँग १६–२१, २१–१९, १८–२१ को स्कोरमा पराजित भएको थियो ।
( बाह्रखरीको सहयोगमा )