बुम्राहको घातक बलिंग पछि भारतलाई अग्रता

जस्प्रित बुम्राहले घातक बलिंग गर्दै ५ विकेट लिंदा दक्षिण अफ्रीका बिरुद्ध तेश्रो टेस्टको पहिलो इनिंग्समा भारतले पहिलो इनिंग्समा १३ रनको अग्रता पाएको छ।

भारतले पहिलो इनिंग्समा २२३ रन बनाएपछि दक्षिण अफ्रीका पहिलो इनिंग्समा २१० रनमा समेटिन पुग्यो। दोश्रो दिनको समाप्तिमा दोश्रो इनिंग्स ब्याटिंग सुरुवात गरेको भारतले २ विकेट गुमाएर ५७ रन बनाएको छ र अग्रता ७० रन पुर्याएको छ।

केएल राहुल १० तथा मायाँक अग्रवाल ७ रन बनाएर आउट भएपछि दिनको समाप्तिमा क्रिजमा चेतेश्वर पुजारा ९ तथा कप्तान बिराट कोहली १४ रन बनाएर ब्याटिंग गरिरहेका छन्। राहुललाई मार्को जान्सेन र अग्रवाललाई कागीसो रबाडाले क्याच आउट पारे।

यस अघि दक्षिण अफ्रीकाले पहिलो इनिंग्समा २१० रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो। उसको लागि किगान पिटरसनले सर्वाधिक ७२ रन बनाए। तेम्बा बभुमाले २८, केशव महाराजले २५, रसि भान डर डुसेनले २१ रन योगदान दिए। पिटरसनले चौंथो विकेटको लागि डुसेनसग ६७ रनको साझेदारी गरे। पिटरसनले एक किनार सम्हालेता पनि अर्को किनारमा विकेट जाने क्रम निरन्तर रह्यो। जस्प्रित बुम्राहले उनलाई आठौँ विकेटको रुपमा क्याच आउट पारे।

भारतको बलिंगमा जस्प्रित बुम्राहले सर्वाधिक ५ विकेट लिए जुन क्रममा २३.३ ओभरमा ८ मेडन ओभर गर्दै ४२ रन खर्चिए। उमेश यादव र मोहम्मद शामीले समान दुई विकेट लिंदा शार्दुल ठाकुरले एक विकेट लिए। बुम्राहले दक्षिण अफ्रीकाको माथिल्लो क्रमका डीन एल्गर, एडेन मारक्रम, किगान पिटरसनको महत्वपूर्ण विकेट लिए।

टेस्टको पहिलो इनिंग्समा टस जितेर ब्याटिंग गरेको भारतले २२३ रन बनाएको थियो। भारतको ब्याटिंगमा बिराट कोहलीले सर्वाधिक ७९ रन तथा चेतेश्वर पुजाराले ४३ रन योगदान दिएका थिए। दक्षिण अफ्रिकी बलर कागीसो रबाडाले ४ तथा मार्को जान्सेनले ३ विकेट लिएका थिए।

तिन टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्ट भारतले ११३ रनले तथा दोश्रो टेस्ट दक्षिण अफ्रीकाले ७ विकेटले जितेको थियो।

२०७८ पुष २८, बुधबार मा प्रकाशित