PMCUP : कुशल र दिपेन्द्रको विस्फोटक अर्धशतक, पुलिस सेमीफाइनलमा

कर्णाली प्रदेशलाई ८९ रनले पराजित गर्दै नेपाल पुलिस क्लब लगातार तेश्रो जितको साथ प्रधानमन्त्री कप टि-२० राष्ट्रिय प्रतियोगिताको सेमीफाइनल पुग्ने पहिलो टिम बनेको छ। पुलिसले यस अघि आर्मी र सुदूरपश्चिमलाई पराजित गरेको थियो। कर्णाली प्रदेश भने तेश्रो हार पछि प्रतियोगिताबाट बाहिर भएको छ।

समुह ‘ए’ अन्तर्गत टियु मैदान किर्तिपुरमा सम्पन्न खेलमा पुलिसले दिएको २४५ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेशले २० ओभर ब्याटिंग गर्दै ९ विकेट क्षेतीमा १५५ रन बनायो।

कर्णालीको ब्याटिंगमा प्रकाश जैसीले सर्वाधिक ६८ रन बनाए जुन क्रममा ४७ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। दिवान पुन र रबिन्द्र शाहीले समान १७ तथा मनिष थापा र दिनेश अधिकारीले समान १५ रन बनाए। पुलिसका बलर दिपेन्द्र ऐरी र योगेन्द्र सिंह कार्कीले समान २ विकेट लिंदा करन केसी गुल्सन झा, पवन सर्राफ र कुशल भुर्तेलले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको पुलिस क्लबले २ ओभरमा ६ विकेट क्षेतीमा २४४ रन बनाएको थियो। यो योगफल जारि प्रतियोगिताकै सर्वाधिक योगफल हो।

पुलिसको लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८२ रन बनाए जुन क्रममा ३९ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। यस्तै दिपेन्द्र ऐरीले २८ बलमा ९ चौका र २ छक्का मद्दतले ६२ रन बनाए। दिलिप नाथले १० बलमा ३० रन, पवन सर्राफले १३ बलमा २२ रन, आरिफ शेखले ९ बलमा १८ रन तथा मन्जित श्रेष्ठले १५ बलमा १९ रन बनाए।

कुशलले पवनसंग ५२ रनको ओपनिंग साझेदारी गरेका थिए। पाँचौ ओभरमा पवन आउट भएपछि दोश्रो विकेटको लागि कुशल र दिपेन्द्रले १०८ रन जोडे। तेश्रौँ ओभरमा कुशल र पन्ध्रौँ ओभरमा दिपेन्द्रलाई रबिन्द्र शाहीले क्याच आउट पारे। त्यसपछि लगातार विकेट गुमाएको पुलिसको लागि सातौँ विकेटको रुपमा आरिफ र दिलिपले अविजित ४६ रनको साझेदारी गरे।

कर्णाली प्रदेशका बलर अनुज चनारा ( ४-०-६७-२ ) , प्रकाश जैसी ( ४-०-३५-२ ) र रबिन्द्र शाही ( ४-०-३७-२ ) ले समान दुई विकेट लिए।

२०७८ पुष ३०, शुक्रबार मा प्रकाशित