पुलिसद्वारा प्रदेश १ सहजै पराजित

प्रदेश १ लाई ६ विकेटले सहजै पराजित गर्दै जारि प्रधानमन्त्री टि-ट्वान्टी राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबले अपराजित रहँदै सेमिफानलमा स्थान बनाएको छ । ग्रुप ए बाट दुई विभागीय टोलि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तथा ग्रुप बि बाट अपराजित नेपाल एपीएफ क्लब तथा बागमती प्रदेशले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । सेमिफाइनलका खेलहरु भोलि हुनेछन् ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा १०२ रनको सामन्य लक्ष्य पछ्याएको पुलिसले १३.१ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । उसका लागि ओपनर कुशल भुर्तेलले २८ बलमा समान ३ चौका र ३ छक्काको मद्धतमा सर्वाधिक ४४ रन बनाए । यस्तै, अनिल शाहले अविजित २६, दिपेन्द्र सिंह ऐरीले २० तथा आरिफ शेखले अविजित १० रनको योगदान दिए ।

ओपनर पवन सरार्फ ४ तथा दिपेन्द्र सिंग ऐरी २० रन बनाएर आउट भएपछि अर्का ओपनर कुशल भुर्तेलले अनिल शाहसँग तेस्रो विकेटको लागि ५६ रनको साझेदारी गर्दै पुलिसको जितको आधार तयार पारे । भुर्तेललाई नवौं ओभरमा मुकुन्द यादवले सोनु अन्सारीबाट डिप मिडविकेटमा क्याच आउट गराए । त्यसपछि अमित श्रेष्ठ पनि १ रनमा आउट भएपछि अनिल र आरिफले १६ रनको अविजित साझेदारी गर्दौ पुलिसलाई जित दिलाए ।

प्रदेश १ को बलिंगतर्फ फिर्दोश अन्सारी, दिपेश कँडेल र मुकुन्द यादवले समान १ विकेट लिए ।

यसअघि खेलमा टस जितेर ब्याटिंग रोजेको प्रदेश १ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०१ रन बनाएको थियो । उसका लागि ओपनर मिनास थापाले ५९ बलमा ६ चौका र १ छक्काको मद्धतमा सर्वाधिक ५९ तथा सर्वान थापाले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

एक किनारबाट निरन्तर विकेट गएता पनि मिनासले अर्को किनार सम्हाल्दै प्रदेश १ लाई सम्मानजनक योगफलतर्फ डोर्याएका थिए । उनले सर्वानसँग पाचौं विकेटको लागि २८ रनको साझेदारी गरे । सर्वानलाई १६ औं ओभरमा आरिफ शेखले तथा मिनासलाई १९ औं ओभरमा कप्तान मन्जित श्रेष्ठले आउट पारे ।

प्रदेश १ लाई सस्तोमा समेट्न आरिफ शेख ( ३-२-३-२ ), दिपेन्द्र सिंह ऐरी ( ३-०-८-२ ) र मन्जित श्रेष्ठले ( ३-०-२०-२ ) समान २ विकेट लिए । यस्तै, करण केशी र सागर ढकालले समान १ विकेट हात पारे ।

२०७८ माघ ३, सोमबार मा प्रकाशित