‘कोहलीले अहंकार त्याग्नु पर्छ’ कपिल देव

भारतीय टेस्ट टिमको कप्तानी छाडेपछि बिराट कोहली बारे बिभिन्न धारणाहरु सार्वजनिक भएका छन्। कसैले कोहलीको आलोचना गरेका छन् भने कसैले उनको निर्णयको समर्थन गरेका छन्। भारतलाई १९८३ को विश्वकप जिताएका कपिल देवले उनको निर्णयको सम्मान गर्दै कोहलीले आफ्नो अहंकार छोडेर जुनीयर खेलाडीको कप्तानीमा खेल्न तयार हुनुपर्ने प्रतिक्रिया दिएका छन्।

“म कोहलीको निर्णयको स्वागत गर्छु। टि-२० को कप्तानी छोडेपछि उनि कठिन समयबाट गुज्रिरहेका थिए। पछिल्लो समय उनि दबाबमामा देखिएका छन्। यस्तो दवावबाट स्वतन्त्र भएर खेल्नको लागि कप्तानी छोड्नेनै बिकल्प थियो र उनले त्यही रोजे।”

“कोहली परीपक्व व्यक्ति हुन्। मलाई विश्वास छ उनले यो महत्वपूर्ण निर्णय लिनु भन्दा अघि धेरै विचार गरेका थिए। यो पनि हुनसक्छ कि उनि कप्तानीमा रमाउन सकीरहेका थिएनन्। हामीले उनको समर्थन गर्नुपर्छ र उनलाई शुभकामना दिनुपर्छ।” कपिल देवले बताएका छन्।

६३ वर्षीय कपिल देवले जुनियर खेलाडीको अन्डरमा खेल्न कोहलीलाई समस्या नहुने पनि बताए – “उनले आफ्नो अहंकार त्यागेर युवा खेलाडीको अन्डरमा खेल्नुपर्छ। त्यसले उनलाई र भारतीय क्रिकेटलाई फाइदा हुनेछ। हामी बिराटलाई गुमाउन चाहदैनौ, कुनै पनि हालतमा। सुनिल गावस्करले मेरो अन्डरमा खेलेका थिए, मैले के श्रीकान्त, मोहम्मद अजरुद्दीनको अन्डरमा खेलेको थिएँ। मलाई कुनै अहंकार थिएन। बिराटले पनि अहंकार छोड्नु पर्छ कि कुनै युवा क्रिकेटको अन्डरमा खेल्दैछु।”

२०७८ माघ ३, सोमबार मा प्रकाशित