नेपाल एपीएफ क्लबका आक्रामक युवा ब्याटर लोकेश बमले जारि प्रधानमन्त्री टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लबविरुद्धको दोस्रो सेमिफानल खेलमा १४ बलमा अर्धशतक प्रहार गर्दै नयाँ किर्तिमान बनाएका छन् । यस प्रतियोगिता तथा समग्र नेपालको घरेलु राष्ट्रिय टि-ट्वान्टी प्रतियोगिता कै यो सबभन्दा छिटो अर्धशतक हो ।
कप्तान शरद भेषावकर ९ रनमा आउट भएपछि १७ औं ओभरमा ब्याटिंग गर्न आएका बमले जितेन्द्र मुखियाको १७ औं तथा १९ औं ओभरमा लगातार ३ छक्का प्रहार गरे। उनले सुशन भारिको अन्तिम ओभरको पहिलो बलमा चौका प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरे ।
यस खेलको विजेता टोलीले फाइनलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आजै सम्पन्न पहिलो खेलमा बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै पुलिसले फाइनलमा स्थान पक्का गरिसकेको छ ।
यसअघि खेलमा टस हारेर ब्याटिंगको निम्तो पाएको नेपाल एपीएफ क्लबले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २३० रन बनायो । उसका लागि ओपनर आशिफ शेखले ४३ बलमा १० चौका र ५ छक्काको मद्धतमा सर्वाधिक ८४ तथा लोकेश बमले १८ बलमा २ चौका र ९ छक्काको मद्धतमा अविजित ६६ रन बनाए । यस्तै , अर्का ओपनर प्रदिप ऐरीले ५३ बलमा ५७ रनको योगदान दिए ।
ओपनरद्वय आशिफ र प्रदिपले पहिलो विकेटको लागि १५० रनको साझेदारी गरे । आशिफलाई सुमित श्रेष्ठ तथा शरदलाई जितेन्द्र मुखियाले आउट पारेपछि लोकेश र प्रदिपले २१ बलमा अविजित ६८ रनको साझेदारी गर्दै एपीएफलाई बलियो योगफलतर्फ डोर्याए ।
त्रिभुवन आर्मी क्लबको बलिंगतर्फ जितेन्द्र मुखिया ( ४-०-५७-१ ) र सुमित श्रेष्ठले ( १-०-१९-१ ) समान १ विकेट लिए भने अन्य बलर विकेटविहिन रहे ।