भारतको दक्षिण अफ्रीका भ्रमण अन्तर्गत तिनवटा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज पार्ल स्थित बोल्याण्ड पार्क स्टेडियममा सुरु भएको छ।
खेलमा टस जितेर ब्याटिंग रोजेको दक्षिण अफ्रीकाले निर्धारित ५० ओभरमा ४ विकेट क्षेतीमा २९६ रन बनाउदै भारतलाई २९७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
दक्षिण अफ्रीकाको ब्याटिंगमा कप्तान तेम्बा बभुमा र रसि भान डर डुसेनले शतकीय योगदान दिए। डुसेनले अविजित १२९ रन बनाए जुन क्रममा ९६ बलमा ९ चौका र ४ छक्का प्रहार गरे। बभुमाले १४३ बलमा ८ चौका मद्दतले ११० रन बनाए।
क्विन्टन डीकक ( २७ ), जानेमन मलान ( ६ ) र एडेन मारक्रम ( ४ ) आउट हुँदा ६८/३ को अवस्थाबाट बभुमा र डुसेनले चौंथो विकेटको लागि २०४ रनको साझेदारी गरे। बभुमालाई ४९ औं भरमा जस्प्रित बुम्राहले क्याच आउट गर्दै साझेदारी तोडे। यो साझेदारी दक्षिण अफ्रीका र भारत बीच खेलिएको एकदिवसीय अन्तर्राष्ट्रिय इतिहासकै चौंथो विकेटको लागि सर्वाधिक साझेदारी हो। यस अघि सन् २०१३ मा क्विन्टन डीकक र एबि डी भिल्लीयर्सले १७१ रनको साझेदारी गरेका थिए जुन रेकर्ड आज टुटेको हो। यस्तै भारत बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो दोश्रो ठूलो साझेदारी हो। यस अघि सन् २००९ मा शोयब मलिक र मोहम्मद युसुफले २०६ रनको साझेदारी गरेका थिए।
भारतको बलिंगमा जस्प्रित बुम्राहले दुई विकट ( १०-०-४८-२ ) तथा रभीचन्द्रन आश्विनले एक विकेट (१०-०-५३-१ ) लिए।
दुई देश बीच यस अघि सम्पन्न तिन टेस्टको सिरिज दक्षिण अफ्रीकाले २-१ ले जितेको थियो।